रातभर बँदेलले आलु खेती नस्ट गर्नथालेपछि माइजोगमाई–६ थुम्केका किसान हैरान भएका छन् । कात्तिक–मंसिर महिनामा रोपेको आलु चिचिला लाग्न थाल्दै बंधेलले नस्ट गरिसकेको छ । अहिले पुस–माघ महिनामा रोपेको बर्खे आलु पनि बंधेलले उदिनेर खान थालेपछि यहाँका किसान रातभर जाग्राम बस्नुको विकल्प नभएको किसानले बताएका छन् ।
पछिल्लो समय स्थानीय किसान दिनेश केसीले लगाएको दश मन आलु बंधेलले नस्ट गरेको केसीले बताए । ‘जंगली जनावार मार्न पाईंदैन, धपाउने कुनै उपाया छैन, अब हामीले गाउँनै छोडेर हिंड्नुको विकल्प छैन ।’ केसीले भने ‘यहाँका २० औं परिवारले लगाएको आलु बंधेलले सबै नस्ट गरिसकेको छ ।’ यतिबेला अर्थात पुस–माघ महिनामा रोपेको आलु असार–साउनमा मात्र पाक्ने गरेको छ । यो आलु किसानले बीउ आलुका रुपमा प्रयोग गर्ने गरेका छन् ।
दिनेको जस्तै स्थानीय किसान तेजबहादुर कठेतले लगाएको करिब २० मन आलु पनि बंधेलले नस्ट गरिरहेको छ । यस्तै अर्का किसान विशाल केसीको पनि करिब दश मन आलु बंधेलकै लागि मात्र भएको बताइएको छ । भारतको सिंहलिला नेशनल पार्कबाट सीमावत्र्ती क्षेत्र तुम्लिङ हुँदै आउने जंगली जनावारले जिल्लाको उत्तरी क्षेत्रमा लगाइएको खेतीबाली र पालिएका चौपायाहरु नस्ट गरिरहेको किसानले बताएका छन् । आलु, गहुँ, मकैजस्ता बालीहरु जंगली जनावारले नस्ट गर्दा उत्तरी क्षेत्रका किसानको खानेकुरा जोहो गर्ने विकल्पनै नभएको पीडित किसान बताउँछन् ।
सिंहलिला हुँदै आउने जंगली जनावार भालुको पनि माइजोगमाईमा आतंक उस्तै छ । भालुका कारण एक्लै हिँड्न र नानीहरु विद्यालय पठाउन पनि मुस्किल भएको दिनेशले बताए । उनले भने ‘यसपटक मेरै खोरमा रहेका पाँचवटा बाख्रा भालुले खाइदियो, अन्य धेरै किसानको बाख्रा भालुले मारेको छ । हामीलाई यी वन्यजन्तु नियन्त्रणका लागि सरकारको सहयोग चाहिएको छ । बंधेल र भालुको मात्र होइन माइजोगमाईससहित अन्य स्थानीय तहमा पनि बाँदरको आतंक उस्तै छ । बाँदरले पनि आलु उखेलेर हैरान बनाएको माइजोगमाई–५ की किसान टिका चापागाईं बताउँछिन् ।
बाँदरले अन्न बाली, तरकारी र फलफूलमात्र होइन अलैंचीको फुल्न थालेको टुसा खाएपछि किसानहरु थप समस्यामा परेका छन् । माइजोगमाई गाउँपालिका सहित सूर्योदय नगरपालिका, इलाम नगरपालिका, देउमाइ नगरपालिका, सन्दकपुर गाउँपालिकालगायत स्थानीय तहमा बाँदर र बंधेलका कारण बसाईं सर्ने अवस्था आएको इलाम नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठ बताउँछन् । किसानले लगाएको खाद्यान्नसहित अन्य बाली नस्ट हुँदा त्यसको मूल्य भने किसानले चुकाउने गरेका छन् ।