अक्षयकुमार लिन्छन् एक फिल्मका लागि १ सय ३५ करोड, अरु कति ?

बलिउडलाई संसारको दोस्रो ठूलो फिल्म इन्डस्ट्री भन्ने गरिन्छ । यहाँ वर्षमा हजारभन्दा बढी फिल्म निर्माण र प्रदर्शन हुने गरेका छन् । जसमध्ये केही ठूला स्टारहरुको फिल्मले बक्सअफिसमा सुनामी नै ल्याउँछ । फिल्म हिट भएपछि कलाकारको पारिश्रमिक बढ्ने नै भयो । बलिउडका ठूला स्टारको पारिश्रमिक ठूलै छ । केही कलाकारको पारिश्रमिक सय करोड समेत नाघिसकेको छ ।

बलिउडमा वर्षौं राज गरेका सलमान खान, आमिर खान र शाहरुख खानभन्दा पछिल्लो समय अक्षय कुमार सबैभन्दा महंगा हिरो मानिन्छन् । उनले एक फिल्मका लागि १ सय ३५ करोडसम्म पारिश्रमिक लिने गर्दछन् । डिज्नी प्लस हटस्टारमा रिलिज भएको फिल्म ‘बेलबटम’ का लागि उनले १ सय १७ करोड पाएका थिए । एक वर्षमा सबैभन्दा बढी फिल्म दिने हिरो पनि उनी नै हुन् ।

अभिनेता आमिर खान आफूले अभिनय गर्ने फिल्ममा पारिश्रमिकभन्दा मुनाफाको हिस्सा लिने सर्तमा बढी काम गर्ने गर्छन् । उनले मुनाफाको ७५ प्रतिशत लिने गरी फिल्ममा काम गर्दै आएका छन् । अभिनेता सलमान खानले पनि होम प्रोडक्सनभन्दा बाहिरको फिल्ममा मुनाफाको ७० प्रतिशत हिस्सा लिने गरेका छन् । यदी फिल्मले सय करोड कमायो भने उनको हातमा ७० करोड पर्छ ।

एक फिल्मका लागि ७० देखि ८० करोडसम्म पारिश्रमिक बुझ्दै आएका बलिउडका बादशाह शाहरुख खानले पनि प्रायः मुनाफाको शेयर लिने गरी फिल्ममा काम गर्ने गरेका छन् । उनले पारिश्रमिक नलिएको फिल्ममा मुनाफाको ६० प्रतिशत पाउने सम्झौता हुन्छ । अर्का एक्सन हिरो ऋतिक रोशनले पनि नाफाको ५० देखि ५५ प्रतिशतसम्म शेयर लिने सर्तमा फिल्ममा काम गर्दै आएका छन् ।

त्यस्तै, रणवीर कपूरले एक फिल्मका लागि ७० करोड पारिश्रमिक बुझ्ने गरेका छन् । अभिनेता रणवीर सिंहको पारिश्रमिक भने ५० करोड छ । फिल्म ‘हिरोपन्ती’ बाट डेब्यू गरेका टाइगर श्राफले पनि एक फिल्मका लागि ५० करोड पारिश्रमिक लिने गर्दछन् । वरुण धवन, शाहिद कपूर र जोन अब्राहमले भने क्रमशः ३५ करोड, ३० करोड र २० करोड पारिश्रमिक पाउने गरेको चर्चा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार