कागतीको व्यावसायिक खेतीमा लागेका खत्री

  काेकिला ढकाल

बगरमा खेर गइरहेको जमिन सदुपयोग गरेर जिल्लाका एक किसानले राम्रो आम्दानी गरिरहेका छन् ।
इलाम नगरपालिका–१०, गोदकस्थित माइखोलाको बगरमा कागती लगाएर स्थानीय किशोरसिंह खत्रीले आकर्षक आम्दानी गर्न थालेका हुन् । राजदुवाली पुलबाट करिब ३ सय मिटर बगरैबगर उँधो झरेपछि खत्रीको व्यावसायिक कागती खेतीमा पुगिन्छ । उनले यहाँ लगाएका ६ सय बिरुवाबाट पहिलो वर्ष नै १ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको बताए । ‘खेती गरेको ४ वर्षमा कागतीले आम्दानी दिन थालेको छ,’ उनले भने, ‘पहिलो वर्ष करिब १ लाख रुपैयाँको विक्री भयो । यो वर्ष पनि आम्दानी राम्रै हुने अपेक्षा छ ।’
खत्रीले कागती बेच्न टाढा जानु पनि नपरेको बताए । स्थानीय जातको कागती गुणस्तरीय हुने भएकाले विक्रीका लागि भौंतारिनु नपरेको उनको भनाइ छ । ‘उत्पादन हुन थालेपछि कागती किन्न खोज्ने धेरैजनाले सम्पर्क गरे,’ उनले भने, ‘सबैलाई पु¥याउन सकिएन । बोट हुर्किंदैगएकाले आउँदो सालदेखि यसले अझ राम्रो आम्दानी दिने आशा छ ।’माइखोलाको बगरमा रहेको खत्रीको जमिन वर्षाैंदेखि बाँझै थियो । आफू सरकारी जागिरमा भएका बेला खेती गर्न नपाएकाले जमिन खेर गएपनि फुर्सद भएपछि खेती थालेको उनले बताए ।
अहिले खत्रीले बगरको आफ्नो जमिनमा टिक, पाउलोनियाँ र एभोकाडोका बिरुवासमेत लगाएका छन् । ‘यो बिरुवाले अब केही वर्षमा राम्रो आम्दानी दिन थाल्छ,’ उनले भने, ‘एकचोटी रोपेपछि वर्षैपिच्छे धेरै मेहनत गर्नु नपर्ने भएकाले यसको खेती सजिलो पनि छ ।’
आउँदो सालदेखि करिब अढाई लाख रुपैयाँ हाराहारीको कागती विक्री गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
‘कागतीबाट निकै राम्रो आम्दानी हुने आशा छ,’ खत्रीले भने, ‘स्वास्थ्यका लागिसमेत फाइदाजनक हुने भएकाले कागती उत्पादन गर्दा विक्री नहुने समस्या चाहिँ नहुनेरहेछ ।’ जिल्लामा ठूलो कागती खेती नभएका बेला खत्रीले यसको व्यावसायिक खेती गरेका हुन् । ‘इलामको हावापानीमा कागती राम्रै फल्नेरहेछ,’ उनले भने, ‘रोजगारी नपाएका युवाले अरू क्षेत्रमा जस्तै कागती खेतीमा केही लगानी गर्नसके यसले स्वरोजगार बनाउनसक्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार