२०औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ। मंगलबार पोखरा रंगशालामा भएको चौथो क्वार्टरफाइनलमा जित निकाल्दै आर्मी अन्तिम चारमा पुगेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो।आर्मीले अन्तिम चारमा स्थान पक्का गर्ने क्रममा पाँच पटकको च्याम्पियन थ्रीस्टार क्लबलाई १-० गोलले पराजित गर्यो ।आर्मीको जितमा राजिव गुरुङले गरेको गोल निर्णायक बन्यो।
उनले खेलको ७० मिनेटमा गोल गरेका थिए। अब फाइनल प्रवेशका लागि आर्मीले मनाङ मर्स्याङ्दी क्लबसँग पर्सि बिहीबार प्रतिस्पर्धा गर्नेछ। मनाङले पुलिसलाई हराएर अन्तिम चारमा स्थान पक्का गरेको थियो। त्यसअघि भोलि हुने पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। क्वार्टरफाइनलमा एपिएफले अमेरिकी क्लबलाई हराउँदा मछिन्द्रले संकटालाई हराएको थियो।