वर्तमान सरकारविरुद्ध प्रतिपक्षी दल नेकपा एमालेका दुई भातृसंगठनले आज इलाम सदरमुकाममा राँके जुलुस र पुत्ला दहल गरेका छन् । अनेरास्ववियु र राष्ट्रिय युवा संघ इलामको आयोजनामा सरकारविरुद्ध राँके जुलुस र पुत्ला दहल गरेको हो । पेट्रोलियम पदार्थको मूल्य वृद्धि, स्थानीय तहको निर्वाचनको मिति, सरकारका जिम्मेवार मन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिका विरुद्ध विरोध कार्यक्रम गरेको हो । आज साँझपख इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलबाट शुरु भएको पुल्ठे जुलुस इलाम सदरमुकाममा आएको थियो । युवा र विद्यार्थीले टुँडिखेलमा आएर सरकारकोविरुद्धमा नारावाजी गरेका थिए । नारावाजीका साथै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको थियो । विरोध कार्यक्रममा युवा संघका कार्यालय सचिव दिनेश ढकालले सम्बोधन गरेका थिए । वर्तमान सरकारले संविधान र कानुन मिचेर अघि बढ्न खोजेको आरोप लगाए । गठबन्धन सरकारले समयमा चुनाब गर्न नचाहेको र ज्यान मार्ने धम्की दिने मन्त्रीलाई समेत जोगाएको बताए । कार्यक्रममा युवा संघका कार्यकर्ता, एमालेनिकट विद्यार्थीको उपस्थिति थियो ।