मधेश प्रदेशमा सबैभन्दा धेरै जनसंख्या, औसत परिवार सदस्य संख्या ४ जना(तथ्यांकसहित)

केन्द्रीय तथ्यांक विभागले १२औं जनगणना अनुसार प्रदेशगत रूपमा सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा रहेको देखिन्छ । मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार दुई सय ८८ छ । मुलुकको जनघनत्व १९८ जना पुगेको छ । यसको अर्थ प्रति वर्ग किमीमा १९८ जना मानिस बसोबास गर्छन् भन्ने हो । २०६८ को जनगणनामा यस्तो जनघनत्व १८० थियो ।

जिल्लागत रूपमा हेर्ने हो भने काठमाडौँमा सबैभन्दा बढी प्रति वर्ग किमीमा ५,१०८ जना बसोबास गर्छन् भने मनाङ जिल्लामा एक वर्ग किमीमा ३ जना बसोबास गर्छन् ।

सबैभन्दा बढी जनसंख्या रहेको मधेश प्रदेशमा जनघनत्व ६३६ जना छ भने तराई क्षेत्रको औसत जनघनत्व ४६१ जना छ । मधेश प्रदेशमा २०६८ को जनगणना अनुसार जनघनत्व ५६१ जना रहेको थियो । हिमाली क्षेत्रमा सबैभन्दा कम ३४ जना जनघनत्व रहेको छ ।

काठमाडौँपछि बढी जनघनत्व भएका जिल्ला भक्तपुर, ललितपुर, धनुषा र महोत्तरी हुन् भने मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा एक वर्ग किमीमा १० जनाभन्दा कम बसोबास गर्छन् ।

जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जम्मा विदेशमा रहेका जनसंख्या २१,६९,४७८ व्यक्तिहरु नेपालको परिवारबाट अनुपस्थित भई अक्सर विदेशमा बसोबास गरेका देखिन्छन्जसमध्ये १७,६३,३१५ पुरूष (८१.२८ प्रतिशत) र ४,०६,१०३ महिला (१८.७२ प्रतिशत) रहेका छन् ।

२०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ । हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा २०७८ मा केही कम भई ६.०९ प्रतिशत रहेको देखिन्छ । त्यसैगरी पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशतबाट अहिले ४०.२५ प्रतिशतमा झरेको छ ।

दश वर्षको अवधिमा लैङ्गिक अनुपात तराईमा १ प्रतिशत  विन्दुले घटेको देखिन्छ भने हिमाल तथा पहाडमा क्रमशः ३ प्रतिशत र ४ प्रतिशत विन्दुले बढेको देखिन्छ । २०६८ को जनगणनामा हिमाल, पहाड र तराईमा लैंगिक अनुपात क्रमशः ९४, ९१ र ९७ रहेकोमा २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा सम्म आइपुग्दा क्रमशः ९७, ९५ र ९६ कायम हुन आएको छ ।

वार्षिक जनसंख्या वृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ऋणात्मक (–०.०२%), पहाडी क्षेत्रमा न्यून मात्रामा धनात्मक (०.२९% ) र तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च धनात्मक (१.५६%) वृद्धि देखिन्छ ।

परिवारको आकार 

प्रदेशगत आधारमा परिवारको औसत आकार हेर्दा मधेश प्रदेशमा एक परिवारमा ५.१५ जना र गण्डकी प्रदेशमा सबैभन्दा कम ३.६६ जना रहेको देखिन्छ । २०६८ सालमा गण्डकीमा प्रति परिवार ४.१६ जना र मधेशमा ५.८० जनाको परिवार थियो । जिल्लागत रूपमा दोलखामा सबैभन्दा सानो परिवार औसत ३.४१ जना र रौतहट, बारा तथा कपिलवस्तुमा औसत प्रतिपरिवार ५.५० जना सदस्य छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार