जनगणना २०७८ : इलामसहित पूर्वी पहाडी जिल्लाकाे घट्याे जनसङ्ख्या

  आवाज संवाददाता

पछिल्लो १० वर्षमा प्रदेश-१ का नौ जिल्लाको जनसंख्या घटेको पाइएको छ । प्रदेश १ का पहाडी जिल्लाहरू खोटाङ, भोजपुर, पाँचथर, धनकुटा, ओखलढुंगा, इलाम,सोलुखुम्बु पाँचथर र ताप्लेजुङको जनसंख्या २०६८ सालमा भन्दा २०७८ सालमा कम भएको पाइएको हो ।

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा देशका ३२ जिल्लाको जनसंख्या २०६८ सालमा भन्दा कम भएको छ, जसमा प्रदेश १ का नौ जिल्ला रहेका छन् । खोटाङमा २०६८ सालमा भन्दा ३० हजार ९७२ जनाले जनसंख्या कम भएको छ । २०६८ सालमा दुई लाख ६ हजार ३१२ रहेकामा २०७८ सालमा एक लाख ७५ हजार ३४० मा झरेको छ ।

भोजपुरको जनसंख्या २०६८ सालमा एक लाख ८२ हजार २५९ रहेकामा २०७८ मा एक लाख ५८ हजार ९९१ मा झरेको छ । तेह्रथुममा २०६८ सालमा एक लाख एक हजार ५७७ जनसंख्या रहेकामा २०७८ सालमा ८९ हजार १२५ मा झरेको छ ।

पाँचथरमा ०६८ सालमा एक लाख ९१ हजार ८१७ जनसंख्या रहेकामा २०७८ सालमा एक लाख ७४ हजार ४१९ कायम भएको छ । धनकुटाको जनसंख्या २०६८ सालमा एक लाख ६३ हजार ४१२ रहेकामा २०७८ सालमा एक लाख ४९ हजार ९८४ कायम भएको छ । ताप्लेजुङमा २०६८ मा एक लाख २७ हजार ४६१ जना रहेकामा २०७८ मा एक लाख २० हजार ३५९ मा झरेको छ ।

‌ओखलढुङ्गामा २०६८ सालको जनसंख्या एक लाख ४७ हजार ९८४ रहेकामा २०७८ मा एक लाख ४० हजार ९१४ मा झरेको छ । इलामममा २०६८ सालमा दुई लाख लाख ९० हजार २५४ जनसंख्या रहेकामा २०७८ सालमा दुई लाख ८० हजार ५६५ मा झरेको छ ।

सोलुखुम्बुमा २०६८ सालमा एक लाख पाँच हजार ८८६ जना रहेकामा २०७८ सालमा एक लाख चार हजार ७६८ मा झरेको केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।प्रदेश १ को पहाडी जिल्ला संखुवासभामा भने जनसंख्या बढेको छ । संखुवासभाको जनसं‌ख्या १० वर्षमा ३०४ जना बढेर एक लाख ५९ हजार ४६ पुगेको छ ।

प्रदेश १ को ६ जिल्लामा भने २०६८ सालको भन्दा जनसंख्या बढेको छ । प्रतिशतका आधारमा सबैभन्दा धेरै जनसंख्या झापाको बढेको छ । झापाको जनसंख्या २०६८ सालमा आठ लाख १२ हजार ६५० रहेकोमा अहिले एक लाख ८१ हजार ४४० ले बढेर नौ लाख ९४ हजार ९० पुगेको छ ।त्यस्तै मोरङ, सुनसरी र उदयपुरको पनि जनसं‌ख्या बढेको छ । मोरङको जनसंख्या एक लाख ८१ हजार ८१६ जना बढेर एघार लाख ४७ हजार १८६ पुगेको छ । सुनसरीमा १० वर्षको अवधिमा २९ हजार २६ जना बढेर जिल्लाको कूल जनसंख्या नौ लाख ३४ हजार ४६१ पुगेको छ भने उदयपुरको २०६८ को जनस‌ंख्या तीन लाख १७ हजार ५३२ रहेकोमा बढेर तीन लाख ४२ हजार ७७४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार