समयमा अस्पताल पुगे पनि पैसाको अभावमा चिकित्सकले भने अनुसारको परीक्षण गर्न नसकेको, आर्थिक पक्ष हेरेर सिभिल अस्पतालमा तत्कालीन अवस्थामा खटिएका कर्मचारीले आइसियुमा राख्नुपर्ने बिरामीलाई पाटन अस्पताल रिभर गरेको र अस्पतालको एम्बुलेन्स समेत नदिएको देखिएको समेत प्रतिवेदनमा उल्लेख छ।
‘गरिबी र अभावलाई नजिकबाट नियालेका विश्वकर्माको आफू बिरामी भएको र उपचारमा समस्या भएको कुरा आफू कार्यरत सञ्चार संस्था, सहकर्मी, साथीभाइ र आफन्तजनलाई सुनाउने र सहयोग मागेका थिएनन्,’ प्रतिवेदनमा लेखिएको छ’ उनलाई कसैले पनि स्व स्फूर्त सहयोग समेत गरेको देखिएन। उनले नेपाल पत्रकार महासङ्घलाई समेत त्यसबारे जानकारी गराएका थिएनन्।’
अस्पताल पुगेका बिरामीको अवस्था हेरेर पहिला उपचार गर्नुको साटो अर्को अस्पताल लैजान दबाब दिएको आधारले अस्पतालले पैसा तिर्न नसक्ने अवस्था देखेपछि बहाना झिकेको देखिने प्रतिवेदनमा उल्लेख छ।
‘अस्पतालका कर्मचारीले त्यसो गर्नुको पछाडि अस्पताल प्रशासनले सेवाग्राहीसँग बिल अनुसारको रकम लिन र त्यस अनुसारको रकम नलिए या तलमाथि परे सम्बन्धित कर्मचारीबाट नै भराउने नियम कारक देखिन्छ। बिरामीबाट जम्मा ६ सय रुपैयाँसम्म पनि केही घण्टा कुरेर लिने धैर्यता नदेखाउनु र उपचार नगर्नुले अस्पतालले उपचारका लागि आइपुगेका बिरामीको जीवन बचाउनेतिर भन्दा पनि कसरी पैसा असुल्ने भन्ने गरी निजी अस्पताल झैँ मुनाफा कमाउने व्यापारिक मनोवृत्तिका साथ अगाडि बढेको पुष्टि हुन्छ,’ प्रतिवेदनमा लेखिएको छ।
प्रतिवेदनको अंश
–विश्वकर्माको आर्थिक अवस्था कमजोर रहेको र मासिक ३० हजार आम्दानीले घर खर्च, काठमाडौँमा सागै बसेका दुई भाइको पढाई खर्च, अछाममा रहेका श्रीमती र साढे ३ वर्षको छोराको जिम्मेवारी निर्वाह गर्न कठिन थियो। उनी दीर्घकालीन दम र जन्डिसका बिरामी थिए।
–पुसको दोस्रो हप्ताबाट कोभिडसँग मिल्दोजुल्दो लक्षण (ज्वरो आउने, खोकी लाग्ने जस्ता) देखिएपछि घरमै बसेर औषधी सेवन गरेको पाइयो। तर, पुस २७ मा श्वासप्रश्वास सम्बन्धी थप समस्या भएपछि सिभिल अस्पताल पुगेका उनलाई चिकित्सकले फोक्सो र मुटुको परीक्षण गर्न सुझाएका थिए। उक्त उपचारका लागि पनि उनीसँग पैसा थिएन। त्यस वेलासम्म उनले कोरोना परीक्षण समेत गराएका थिएनन्। कोरोना परीक्षण नगराउनुमा नियत भन्दा पनि परीक्षण गर्न लाग्ने शुल्क अभाव नै मुख्य समस्या देखियो।
उनले सामान्य र औषधी सेवन गरे पनि आर्थिक अभावकै कारण अस्पताल भर्ना र आधुनिक उपचारको सुविधा लिन सकेनन्। त्यही क्रममा उनी माघ ५ गते राति श्वासप्रश्वाससम्बन्धी समस्याकै कारणले पुनः सिभिल अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको देखिन्छ।
– त्यो रात करिब साढे १० बजे अस्पताल पुगेका उनलाई करिब चार घण्टासम्म अस्पतालले आकस्मिक कक्षमा राखेर अक्सिजन दिने र सामान्य उपचार गरेको, बिल तिर्न जाँदा अस्पताल काउन्टरले कोभिड परीक्षणसहितको शुल्क रु.४१०० रुपैयाँ मागेकोमा भाइ गौतमसँग रुं.३५०० मात्रै भएको बताएपछि अस्पतालले कोभिड परीक्षणबाहेक रु.३२९० लिएको पाइयो। बिरामीसँग पैसा नभएको थाहा पाएपछि अस्पतालले बिरामीको संवेदनशील अवस्था बुझेर उनको ज्यान बचाउनेभन्दा उनीबाट उपचारको शुल्क असुल हुन नसक्ने अवस्था बुझेपछि बेवास्ता र लापरबाही सुरु गरेको देखिन्छ।
– त्यसपछि मात्रै अस्पतालले आइसियु र भेन्टिलेटर नभएको भन्दै पत्रकार विश्वकर्मालाई अर्को अस्पताल लैजान दबाब दिएको आधारले अस्पतालले पैसा तिर्न नसक्ने अवस्था देखेपछि बहाना झिकेको देखिन्छ।
अस्पतालका कर्मचारीले त्यसो गर्नुको पछाडि अस्पताल प्रशासनले सेवाग्राहीसँग बिल अनुसारको रकम लिन र त्यस अनुसारको रकम नलिए या तलमाथि परे सम्बन्धित कर्मचारीबाट नै भराउने नियम कारक देखिन्छ।
बिरामीबाट जम्मा ६ सय रुपैयाँसम्म पनि केही घण्टा कुरेर लिने धैर्यता नदेखाउनु र उपचार नगर्नुले अस्पतालले उपचारका लागि आइपुगेका बिरामीको जीवन बचाउनेतिर भन्दा पनि कसरी पैसा असुल्ने भन्ने गरी निजी अस्पताल झैँ मुनाफा कमाउने व्यापारिक मनोवृत्तिका साथ अगाडि बढेको पुष्टि हुन्छ।
– अस्पतालले रेफर गरेपछि पनि जीवन मरणको दोसाँधमा रहेका पत्रको बिरामीलाई आफूसँग भएका एम्बुलेन्समार्फत अर्को अस्पतालको आइसीयूसम्म पुर्याउन मद्दत गर्नुको सट्टा १०२ मार्फत निःशुल्क एम्बुलेन्स बोलाएर बिरामी लैजान सुझाएको देखिएका कारणले समेत सिभिल अस्पतालको लापरबाहीका कारण बिरामीको उपचारमा ढिलासुस्ती र जोखिम बढेको देखिन्छ।
अवस्था गम्भीर भनेर भेन्टिलेटरसहितको आइसियुमा राखेर उपचार गर्नुपर्ने भनी रेफर गरेपछि सिभिल अस्पतालले आफ्नै एम्बुलेन्समा पठाएर सामान्य मानवीयता पनि नदेखाएको देखिन्छ, जस कारण एम्बुलेन्स खोजीकै लागि २०-२५ मिनेट अतिरिक्त समय खपत भएको छ।
– त्यसपछि विश्वकर्मालाई पाटन अस्पताल पुराइएको थियो। त्यहाँ अस्पतालले करिब ४५ मिनेट आकस्मिक कक्षमै राखेर उपचारपछि उनलाई भेन्टिलेटरमा सिफ्ट गर्ने बेला राति करिब ३ बजे उनको निधन भयो। पाटन अस्पतालले पनि बिरामीको अवस्था हेरेर सिभिलले रेफर गरेको डकुमेन्टका आधारमा सिँधै आइसियुमा राखेर उपचार गर्नुतिर लैजानु भन्दा इमर्जेन्सीमै राखेर उपचार सुरु गर्नु कमजोरी देखिन्छ।
–दमका दीर्घ रोगी पत्रकार विश्वकर्माले कोभिड–१९ का लक्षण देखिए पनि बढी शुल्क भएकै कारण परीक्षण गर्न नसकेको, आइसोलेसन पिरियडमा घरमै बसेर उपचार गरे पनि पोस्ट कोभिडले शरीरमा असर पुर्याएको र अन्तिम अवस्थामा अस्पताल पुगेका उनको उपचारमा अस्पतालले लापरबाही गरेका कारण उनको ज्यान गएको देखिन्छ।
– पाटन अस्पतालले उनलाई कोभिड–१९ सङ्क्रमणको शङ्कास्पद बिरामीको रूपमा उपचार गरेको। र, चिकित्सकहरूले समयमै अक्सिजन र भेन्टिलेटरमा राखेर उपचार गराउन सकिएको भए जीवन बचाउन सकिने बताएका छन्।
– सिभिल अस्पताल प्रशासनले घटनाबारे छानबिन गर्न अस्पतालको इमरजेन्सी विभागका प्रमुख प्रा. डा. दिनेशकुमार लम्सालको संयोजकत्वमा उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर इन्चार्ज भेषबहादुर बस्नेत रहेको छानबिन समिति बनाएको देखियो।
– सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क हुने भनी आर्थिक वर्ष २०७८-०७९ मा उल्लेख भए पनि उक्त घोषणा कागजी पुलिन्दा मात्र रहेको देखियो। सिभिल अस्पतालमा यो घोषणा कार्यान्वयनमै नरहेको देखियो।
मेडिकल रिपोटमा देखिएको तथ्य
अक्सिजनको लेबल कम देखिएको ।
शङ्कास्पद कोभिडको आशङ्का चिकित्सकहरूले गरेको देखिन्छ। तर एन्टिजेन र पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको।
कलेजोमा केही खराबी देखिन्छ। जन्डिस देखिएको
रगतको मात्रामा केही इन्फेक्सन देखिएको।
दीर्घकालीन दम र खोकी देखिएको ।
निष्कर्ष र सिफारिस
–विश्वकर्माको दुःखद निधन हुनुमा सिभिल अस्पतालको लापरबाही मुख्य कारण देखिन्छ। नेपाल सरकार समेतको स्वामित्वमा सञ्चालित अस्पताल प्रशासन सेवाग्राहीमैत्री नहुनुको परिणामले पत्रकार विश्वकर्माको निधन भएको छ। यसकापछि पाटन अस्पतालको समेत लापरबाही देखिन्छ।
– स्वास्थ्य सेवा संवैधानिक हक भएको मुलुकमा नागरिकको जीवन बचाउनु अस्पतालको पहिलो दायित्व हुनुपर्ने हो। तर, अरूको अधिकारकोलागि कलम चलाउने पत्रकार नै महामारीको समयमा अस्पतालमा पुगेर समेत उचित स्वास्थ्य उपचारबाट वञ्चित हुनु र मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना हुनु अत्यन्तै दुःखद हो।
– यस प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु अस्पतालहरूको जिम्मेवारी र कर्तव्य हुने महासङ्घको ठहर छ।
– महामारीका बेला अस्पतालमा भएको लापरबाहीका कारण पत्रकार विश्वकर्माको निधन भएको देखिएकाले उनको परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न महासङ्घ सरकारसँग आग्रह गर्दछ।
– कोभिड–१९ महामारीका कारण सञ्चार क्षेत्र र पत्रकारहरू सङ्क्रमणको जोखिमका बिच नागरिकलाई सूचना दिने कार्यमा सक्रिय छन्। तर, पत्रकार विश्वकर्माको निधनले आमसञ्चार क्षेत्रमा भय सिर्जना गरेको छ। महासङ्घले अग्रपङ्क्तिमा रहेर खटिरहेका पत्रकारहरूको स्वास्थ्य उपचारालागि विशेष व्यवस्था गर्न सरकारसँग माग गर्दछ।
– महामारीका बेला हरेक नागरिकको निःशुल्क स्वास्थ्य उपचार गर्नु सरकारको दायित्व हो। सर्वोच्च अदालतले कोभिड–१९ बाट सङ्क्रमित नागरिकको स्वास्थ्य परीक्षण र उपचार निःशुल्क गर्न ०७७ असोज १५ गते आदेश समेत जारी गरेको सन्दर्भमा महासङ्घ महामारीका बेला सबै नागरिकको स्वास्थ्य उपचार निःशुल्क गर्ने व्यवस्था गर्न महासङ्घ सरकारसँग आग्रह गर्दछ।
– सर्वसाधारण नागरिक सरकारी तथा निजी जुन कुनै अस्पतालमा उपचारका लागि पुगे पनि पहिला उसको बाँच्न पाउने हकको सुनिश्चितता राज्यले गर्नुपर्दछ। नागरिक अगुवा सङ्गठन समेत भएको हिसाबले पत्रकार महासङ्घ यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।
– सरकारले सरकारी अस्पतालमा पटक–पटक पत्रकारहरूको निःशुल्क उपचार हुने भनी घोषणा गरे पनि त्यो घोषणा कागजी पुलिन्दा मात्रै बनेको अवस्था छ। घोषणा गर्ने मात्रै होइन, त्यसको व्यवहारिक कार्यान्वयनकारलागि महासङ्घ सरकारसँग आग्रह गर्दछ।
– टिभी टुडेसहित सञ्चार प्रतिष्ठानहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आफ्ना कर्मचारी पत्रकारहरूलाई समाहित गर्न, न्यूनतम पारिश्रमिक लागू गर्न, समयानुकूल पारिश्रमिक पुनरावलोकन गर्न र श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरे अनुसारको सेवा सुविधाको ग्यारेन्टी गर्न, कार्यस्थललाई स्वास्थ्यमैत्री बनाउन महासङ्घ आग्रह गर्दछ। साथै, यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।