निर्धारित समयमा कुनै गोल निस्कन नसक्दा टाइब्रेकरमा निसलाई ६–५ ले नतिजा सुम्पदा साविक विजेता पिएसजी प्रि–क्वाटरफाइनलबाटै बाहिरियो ।यस खेलमा यसै समरमा क्याटलान क्लब बार्सिलोनाबाट आएका अर्जन्टिनी स्टार लियोनेल मेस्सीसँगै फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेले पहिलो रोजाईमै सुरुवात गरे ।
चोटका कारण नेयमार भने टोलीमा रहेका थिएनन् । मेस्सीले पिएसजीमा ३० नम्वरको जर्सी प्रदान गरिएको थियो । तर निसविरुद्धको खेलमा उनले आफ्नो पूरानो १० नम्वरको जर्सी नै लगाएर खेले । पिएसजीमा १० नम्वरको जर्सी नेयमारले प्रयोग गर्दै आइरहेको छ । मेस्सीले यसअघि बार्सिलोना र अर्जेन्टिनाको लागि प्रयोग गर्दै आइरहेको १० नम्वरको जर्सीलाई निसविरुद्धको खेलमा किन प्रयोग गरे त ? जवकि उनले पिएसजीमा ३० नम्वरको जर्सी लगाउँदै आएका छन् । यसबारे केही तथ्य रहेको छ ।
कप डि फ्रान्सको परम्पराअनुसार प्रि–क्वाटरफाइनलमा पहिलो रोजाईमा हुने टोलीले १ देखि ११ नम्वरसम्मको जर्सी लगाउनुपर्नेछ । चोटका कारण नेयमार नभएपछि पिएसजीले मेस्सीलाई १० नम्वरको जर्सी प्रदान गरेका हुन् । त्यसपछि १२ देखि २० नम्वरको जर्सी हुनेछ ।
गत नोभेम्वरमा सेन्ट इटिएनविरुद्ध लिग वानमा बायाँ घुँडामा चोट बोेकेका नेयमारले निसविरुद्ध नखेल्ने पक्का भएपछि नै मेस्सीलाई अस्थायी रुपमा १० नम्वर जर्सी प्रदान गरिएको हो । पिएसजी क्वाटरफाइनलमा पुग्ने र नेयमार फर्किएको अवस्थामा नेयमारले १० नम्वर जर्सी लगाउनुपर्ने र मेस्सीले जर्सी परिवर्तन गर्नुपर्ने हुनेथियो । तर, पिएसजी नै बाहिरिएपछि यो झन्झट हटेको छ ।
मेस्सी सँधै बार्सिलोनाको सबैभन्दा प्रतिष्ठित नम्वर १० मध्ये एक हो । मेस्सी र १० नम्वर पर्याय जस्तै छ । बार्सिलोनाबाट आफ्नो करियर सुरु गर्दा मेस्सीले ३० नम्वर लगाएका थिए । आफुलाई नियमित रुपमा क्लबमा स्थापित गरेपछि उनले १९ नम्वर जर्सी लगाए । पछि रोनाल्डिन्होले बार्सिलोना छाडेपछि मेस्सीले बार्सिलोनामा १० नम्वरको जर्सी पाएका थिए ।