दुर्घटनास्थलबाट नगद र सुन हराएको छानविन गर्न समिति

रोङ गाउँपालिकामा भएको पिकअप दुर्घटनामा मृत्यु भएका व्यक्तिको साथबाट रकम र गहना हराएको उजुरी परेपछि प्रहरीले छानविन समिति गठन गरेको छ।

जिल्ला प्रहरी कार्यालयले डिएसपी गंगाबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो। ‘घटनाबारे विस्तृत रूपमा थप अनुसन्धान भइरहेको छ,’ प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘उक्त कार्य (नगद–गहना चोरी)मा कसैको संलग्नता रहेको पाइए कानुनअनुसार कडा कारबाही हुनेछ।’

माघ १३ गते बिहान मेची राजमार्गको रोङ–४, पहिरो भन्ने स्थानमा ००१ च ७९१६ नम्बरको पिकअप राजमार्गबाट खस्दा त्यसमा सवार दाजु–भाइको मृत्यु भएको थियो। मृत्यु हुनेमा झापा मेचीनगर–४ का ५५ वर्षे रोशन थापा र उनकै भाइ ४० वर्षे सूर्य थापा छन्।

उनीहरूको साथमा रहेको नगद ४ लाख र सुन घटनास्थलबाटै हराएको भन्दै मृतकका आफन्तले प्रहरीमा उजुरी दिएका थिए। खसी–बाख्रा किनबेच गर्ने थापा दाजुभाइको साथमा रहेको रकम हराएको परिवारजनको गुनासो छ। दुर्घटनामा चालक झापा मेचीनगर–४ का ३३ वर्षे अर्जुन कोइराला गम्भीर घाइते भएका थिए। उनको उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार