‌ऐठन(लघुकथा)

ओइलाइरहेका बोटबिरुवाहरुको लागी सास बोकेर । खेतका गराहरुमा सुनका बाला खोज्ने किसानको लागी आश बोकेर । केटाकेटीको लागि उत्साह बोकेर । कसैकसैको लागि मिठो निन्द्रा बोकेर । पानी सबैको लागि फरकफरक कोशेली बोकेर आउँछ ।
त्यस्तै एकदिन, पाखेमाइलाको लागि कोशेलीमा ऐठन बोकेर आयो । पानी ।
खासमा त उसको नाम शिवहरी रसाइली हो।
एकविहान, गाउँको चौतारीमा दुईजना छोरा र एउटी श्रीमतीसँगै उ भेटिएको थियोे ।
घाँसमा हिँडेको रामेले कहाँ जाने ? कहाँ बस्ने ? भनेर सोधीखोजी गर्दा , उसले रुँदै काम गरेर खान्छु बस्नेठाउँ दिलाइदिनु भनेको थियो। उस्को कुरा सुनेपछि रामेले अन्तरे मुखियाको घरसम्म पुर्याइदियो।
मुखियालाई पनि काम सगाउने मान्छेको खाँचो थियो। आफ्नै एउटा पाखेजग्गामा सानो झुप्रो बनाइदिएर राखे । आजसम्म पनि उ त्येही पाखोमा छ ।
घर पाखोमा भएकै कारण त उस्को असलि नाम ओझेलमा पर्यो । र उसको नाम नै पाखेमाइला भयो ।
मध्यदिउँसो पाखेमाइला घरको आगनमा बसेर कोदालोलाई बिँड तास्दैथियो । आकाशमा अचानक कालो बादल मडारिन थाल्यो । एकछिन अगाडिको घामलाई कसैले अपहरण गरेर लगेजस्तै । एकदम अन्धकार छायो । चराहरु कराउँदै येताउता उड्न थाले । जताततै कागहरु कराउन थाले ।
“केटाहरु कता मरे, कुकुरको मुत फेरि दर्किन्छ जस्तो छ ।” भन्दै बुढीभित्रबाट निस्की । “घाँसमा गकाछन तेरा छाउराहरु के लाई डराउछेस ? दिनआको छ भने महलमा नि मर्छेस ।” बुढाले यतिभन्दा नभन्दै उस्का छोराहरु सुर्जे र मुरली आधा, आधा डोको घाँस बोकेर आत्तिदै आइपुगे ।
“अस्तिकै पानीले घरमास्तिर सप्पै चर्केको छ ।आजपनि पानी आउँलाजस्तो छ । मुखिया बाको तिरै जाम बा ।” जेठो छोरो सुर्जेले डराउँदै कामेको स्वरमा भन्यो । तर उसको कुरामा कसैले ध्यान दिएन । छिटाछिटी गर्दै पानी दर्किन थाल्यो । उसकी बुढी घरभित्रै पसी। सुर्जे र मुरली सिकुवामा बसे । उ भने गाईको गोठतिर गयो । उसलाई देखेर गाई करायो । कहालीलाग्दो समय त्यसमाथि गाईको चित्कारले उसको मन झन् भयभित भयो । एकैछिनमा त पानी आरीले घोप्ट्याएको जस्तो आउन थाल्यो । बिजुलीको चम्क्याइले र गड्याङ्ग गुडुङ्गले उस्को मनमा १० रेक्टर स्केलको कम्पन छुटाइदियो । गोठबाट घरतिर हेर्यो । पाखाको सिरानबाट गाउँतिर लगेको कुलो थुनिएर पानी पाखै पाखा लागेछ ।
“पाखो सबै चर्केको छ आज त पक्का घर लाने भयो ।” मनमनै सोच्यो र सिकुवाका केटाहरुलाइ भन्यो,” सुर्जे तेरी आमालाइ बोलाएर येता आइज पहिरो जाने भो ।”
सुर्जे , मुरली र आमै तिनैजना गोठमा आए ।
हेर्दाहेर्दै घरमास्तिर को बाँसको झ्याङ्गनै आएर घरको माथ्लोपट्टिको भित्तोमा हिर्कायो ।
“ला! घर…” पाखेकी बुढीले त्यतिमात्र भन्न सकी बाँकी शब्द त आँसुले रोकिदियो ।
(आँसुपनि अचम्मको हुन्छ नि है । आँखाबाट बर्सिन्छ तर शब्द, गलाको रोक्दिन्छ ।)
“यतापनि बाँकी रहदैन अब भाग !” भन्दै माइला गाउँतिर कुद्यो ।उस्को पछिपछि सुर्जे, मुरली र उसकी वुढी कुदे । पाखाको पल्लोछेउ पुग्दा खोलामा बाडी आएजस्तो गड्याङ्ग र गुडुङ्ग गरेको आवाज सुनेर माइलाले पाखोतिर हेर्यो । उस्ले आफ्नो झुप्रो कतै देखेन । गाइको गोठ कतै देखेन । देख्यो बग्दै गरेको माटो । लड्दै गरेको ढुङ्गा, ढल्दै गरेका रुख । र सुन्यो बगिरहेको जमिनको अत्यासलाग्दो आवाज । पहिरोको त्येही चीत्कारमा उस्ले आफ्नो माली गाईको चीत्कारपनि सुन्यो । साथै उसलाई आफ्नी दशसमहिने छोरीको पनि चीत्कार सुनेझैं लाग्यो । अहो! बल्ल पो उस्ले आफ्नी छोरी सम्झ्यो । त्यो संहारमा छोरीलाइ सबैले भुलेका रहेछन । सुर्जे, मुरली र बुढी त भागी सकेछन् । उ भने चिच्याउँदै, छोरीलाइ बोलाउँदै फेरि पहिरोले बग्दैगरेको पाखोतिरै भाग्न खोज्यो । जहाँ उस्को झुप्रो थियो । तर खुट्टा चलाउनै सकेन । कत्ति बल गर्दापनि अघि बड्नै सकेन ।मानौ न उसलाई कसैले पछाडिबाट तानिरहेको छ ।या कसैले उस्का खुट्टा बाँधिदिएको छ । त्येस्तै उकुसमुकुस र छटपटीमा झसङ्गै उ ब्यूँझियो ।
“तेस्को किरिया ! कस्तो सपना देख्नु परेको ।” जुरुक्क उठेर पाखेमाइलाले आफ्नै छाती छम्यो, बुढीलाई हेर्यो । छोरीलाई हेर्यो । भुइँमा सुतेका सुर्जे र मुरलीलाइ हेर्यो । र बाहिर निस्केर हेर्यो पानी परिरहेको रहेछ ।
“पानीले सपना मा ऐठन गरायो । अब बिपनामै ऐठन गराउने भयो । ” पाखेमाइलाले मनमनै सोच्यो । गोठमा गएर आगो बाल्यो अनि घरतिर हेर्दै बस्यो ।
यसरी पाखेमाइलाको लागि, कोशेलीमा ऐठन बोकेर आयो । पानी ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार