विदेशिएका श्रीमानका श्रीमतीले विवाह गर्छन् भन्नु गलत, हेर्नुहोस् तथ्यांक

श्रीमान वैदेशिक रोजगारीमा गएपछि घर परिवार धानेर बसेका महिलाहरुलाई समाजले अनेक लान्छना लगाउँछ । ‘श्रीमानको कमाई कुम्लाएर श्रीमती पोइला जान्छन्’, ‘वैदेशिक रोजगारीले परिवार भाडियो’ जस्ता भनाइ जताततै सुन्न पाइन्छ । श्रीमान वैदेशिक रोजगारीमा गएका महिलाहरुको बाह्य सम्बन्धका बारेमा पनि खुब चर्चा सुनिन्छ ।

वैदेशिक रोजगारीमा गएकाहरुले यस्ता चर्चाकै कारण आफ्ना श्रीमती माथि अनावश्यक शंका गरेकैले पारिवारिक बेमेल हुने गरेको छ । समाजका अगुवा र जाने बुझेकैहरुले श्रीमान वैदेशिक रोजगारीमा रहेका महिलाहरुलाई अति सामान्य रुपमा टिप्पणी गर्दा समाजमा उनीहरुलाई हेर्ने दृष्टिकोण नै गलत स्थापित भइरहेको छ । श्रीमान विदेशमा भएपनि घरपरिवार धानेर बसेका महिलाको चरित्रमाथि प्रश्न उठ्ने गरेको छ । तर, यथार्थ त्यस्तो छैन ।
श्रीमान वैदेशिक रोजगारीमा गएका महिलाहरुको तुलनामा श्रीमति वैदेशिक रोजगारीमा गएका पुरुषहरुले बढी दोस्रो विवाह गर्ने गरेको पाइएको छ । सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीको पाश्र्वचित्र बनाउनको लागि संकलन गरेको तथ्यांक अनुसार महिलाको तुलनामा दोस्रो विवाह गर्ने पुरुषको अनुपात धेरै छ ।
पाँचथर, भोजपुर मोरङ र सुनसरी जिल्लाको एक÷एक पालिकाको तथ्यांक महिलाको तुलनामा दोस्रो विवाह गर्ने पुरुषको अनुपात धेरै छ । चार जिल्लाको तीन हजार ३९२ घरपारिवारका चार हजार ३८७ पुरुष र ५३१ महिला हाल वैदेशिक रोगारीमा छन् । वैदेशिक रोजगारीमा रहेका चार हजार ३८७ पुरुषहरु मध्ये एक हजार २५५ पुरुष विवाहित छन् । हाल वैदेशिक रोजगारीमा रहिरहेका एक हजार २५५ पुरुषका ४५ जना श्रीमतीले दोस्रो विवाह गरेका छन् । दोस्रो विवाह गर्नेमा तीन प्रतिशत महिला मात्रै छन् ।
वैदेशिक रोजगारीमा ५१३ जनामा १६० विवाहित छन् । १६० जना वैदेशिक रोजगारीमा रहेका विवाहित महिलाको ५४ पुरुषले दोस्रो विवाह गरेको सुरक्षित आप्रवासन परियोजनाको तथ्यांक छ । दोस्रो विवाह गर्ने ३४ प्रतिशत पुरुष छन् ।
यस्तै, इलाममा पनि दोस्रो विवाह गर्नेमा महिलाको तुलनामा पुरुष नै बढी छ । वैदेशिक रोजगारी सम्बन्धी पाश्र्वचित्र तयारीको लागि संकलित तथ्यांक अनुसार वैदेशिक रोजगारीमा रहेका दोस्रो विवाह गर्ने महिला १.७७ प्रतिशत मात्रै छन् भने श्रीमती वैदेशिक रोजगमारीमा रहेका दोस्रो विवाह गर्ने पुरुष १३ प्रतिशत रहेको सुरक्षित आप्रवासन परियोजनाले जानकारी दिएको छ ।
इलाम नगरपालिका क्षेत्रमा एक हजार ४१५ परिवारका एक हजार २३७ पुरुष र २०२ जना महिला वैदेशिक रोजगारीमा छन् । एक हजार २३७ मध्ये ८७९ जना पुरुष र २०२ मध्ये १३६ महिला विवाहपछि वैदेशीक रोजगारीमा गएका हुन् । १३६ महिलाको २६ जना पुरुषले श्रीमती विदेश गएपछि दोस्रो विवाह गरेका छन् भने ८७९ पुरुषको २२ जना श्रीमतिले दोस्रो विवाह गरेको सामी परियोजनाको कार्यक्रम अधिकृत रामकुमार कर्णले जानकारी दिए ।
कलंक महिलालाई लाग्ने भएपनि यतार्थमा भने अर्कै अवस्था रहेको कर्णले बताए । ‘धेरै आक्षेप महिलालाई लाग्ने गरको छ, तर अथार्थ अर्कै छ’, कार्यक्रम अधिकृत कर्णले भने,‘यसले महिलाहरुले अनावश्यक तनाव खेप्नु परेको । हाम्रो पितृसत्तात्मक सोचका कारण महिलाले आक्षेप भोग्नु परेको हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार