अझै नियन्त्रणमा आएन झापाको जुत्ता उद्योगमा लागेको आगो

झापाको काँकडभिट्टास्थित एसएस फुटवेयरमा आज बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन।बिहीबार बिहान ११ बजेर ३० मिनेट जाँदा सो उद्योगमा लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन। मेचीनगर-६ का श्याम पिन्टुको जुत्ता उद्योगमा विद्युत सर्ट भई लागेको आगो साढे ३ घण्टा बितिसक्दा पनि पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी सुनिलसिंह दाहालले बताए।

‘उद्योगभित्र रहेको जुक्ता बनाउने कच्चा पदार्थ, रेडिमेड जुक्ता, केमिकल लगायतका सामान पूर्ण रूपमा नष्ट भएको छ’, डिएसपी दाहालले भने,‘भवनको चारैतिरको भाग पूर्ण रूपमा जलेको छ। क्षति यकिन भन्न नसके पनि करोडौंको क्षति भएको अनुमान गर्न सकिन्छ।’ अहिले भारत र नेपालका दमकलहरूले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। डिएसपीका अनुसार भारतका ३ तथा झापा र मोरङका १० वटा गरी १३ वटा दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ। आगो नियन्त्रणमा नेपाली सेना, जनपद, सशस्त्र प्रहरी र स्थानीय बिहानदेखि खटिरहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार