फुटबल प्रशिक्षक अलमुताइरी सम्मानित

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीलाई शुक्रबार सम्मान गरेका छन् । अलमुताइरीको प्रशिक्षणमा नेपाली टोली असोजमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो ।

टोलीका खेलाडी, सहायक प्रशिक्षकलाई गत महिना सम्मान गर्दा अलमुताइरी नेपालमा थिएनन् । साफ च्याम्पियनसिपपछि उनी माल्दिभ्सबाट कतार गएका थिए । सरकारले पहिलो पटक साफ च्याम्पियनसिपमो फाइनल पुगेको टोलीका २३ खेलाडीलाई जनही ५ लाख र ३ प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ प्रदान गरेको थियो ।

नेपाली खेलाडीहरुमा पर्याप्त प्रतिभा रहेको र नेपालमा फुटबल प्रति मोह निकै रहेकोले अलमुताइरीले रंगशाला निर्माण गर्न सके थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर पाउने प्रधानमन्त्रीलाई जानकारी गराएको राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले सरकार फुटबललाई सहयोग गर्न सधै तयार रहेको जनाउँदै मन्त्रालयमार्फत छलफल गर्न सुझाएको उपाध्यायले बताए । उपाध्यायले नेपाली टोली एसियन कप छनोटको तयारीमा रहेको प्रधानमन्त्रीलाई जानकारी दिएको बताए ।

माल्दिभ्समा असोजमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । दक्षिण एसियाली राष्ट्रको सबैभन्दा प्रतिष्ठित फुटबल च्याम्पियनसिपको ३ दशक लामो इतिहासमा यसपटक पहिलो पटक फाइनल पुगेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार