सुरक्षाको भरपर्दो व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन - Ilam Aawaj

सुरक्षाको भरपर्दो व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

 प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिएका छन्।

रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हालेका प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र विकासको पूर्वसर्त भएको उल्लेख गर्दै त्यसको भरपर्दो व्यवस्था गर्न सम्बन्धित सबै मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन्।

सिंहदरबारस्थित रक्षा मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकमा शुक्रबार उनले विकास, निर्माणलाई सहज ढंगले अघि बढाउन पनि सुरक्षाजस्तो संवेदनशील विषयलाई उच्च प्राथमिकता दिनुपर्ने स्पष्ट पारे।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले चालु वर्षको कार्यक्रम समयमै सम्पन्न गराउन पनि आफ्नो मन्त्रालयलाई सचेत गराएको रक्षासचिव किरणराज शर्माले जानकारी दिए।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले रक्षा मन्त्रालय मुलुकको सुरक्षा तथा प्रतिरक्षाजस्तो महत्वपूर्ण र संवेदनशील जिम्मेवारी बोकेको मन्त्रालय हो। सुरक्षा, सशासन र विकासको पूर्वसर्त हो। भरपर्दो सुरक्षा प्रबन्ध नभई मुलुकमा एकातिर विकास, निर्माणलाई सहज रुपमा अघि बढाउन सकिन्न भने अर्कोतर्फ यसले पार्ने असरलाई पनि हेर्नुपर्ने हुन्छ भनेर सुरक्षालाई उच्च प्राथमिकतामा राखेर प्रधानमन्त्रीले यसलाई सम्बन्धित मन्त्रालय, निकायले उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ,’ उनले भने,  ‘कैयौं संवेदनशील विषयमा समेत प्रधानमन्त्रीले निर्देशन जारी गर्नुभएको छ। प्रधानमन्त्री र अन्य उच्च विशिष्ट व्यक्तिबाट जुन निर्देशन प्राप्त भएको छ। त्यसलाई हामीले शतप्रतिशत कार्यान्वयन गरेर चालु खर्चलाई सीमामा राख्ने, पुँजीगत खर्च वृद्धि गर्ने र समयमै आयोजना सम्पन्न गर्ने तथा सबै कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर समयमै सम्पन्न गर्ने हामीले यथेष्ट लक्ष्य राखेका छौँ। यसमा सबैको सहयोग, समन्वय र सहजीकरण भइराखेको छ।’

त्यस अवसरमा नेपाली सेनाको सबलीकरण, आधुनिकीकरण, सैनिक विश्वविद्यालय स्थापनालगायत विषयमा पनि छलफल गरिएको रक्षा मन्त्रालयले जनाएको छ। यता, रक्षासचिव शर्माले बैठकमा आएका महत्वपूर्ण निर्देशन तथा सुझावलाई आत्मसात् गर्दै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार