नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक माघ २७ गते बस्ने भएको छ । बैठक पार्टी मुख्यालय वीपीनगर सानेपामा बस्ने भएको हो । बैठक दिउँसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।बैठकमा छलफलका दुई वटा एजेन्डा तय भएको छ । जसमा म्याद सकिएका भतृ एवं शुभेच्छुक संस्थाबारे छलफल हुने बताइएको छ । यही बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाको अधिवेशनको तिथिसमेत तय हुन सक्नेछ ।
भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको अधिवेशन नहुँदा पार्टीको गतिसमेत रोकिएको स्पष्टै छ । नेतृत्व परिवर्तन नहुँदा भ्रातृ एवं शुभेच्छुक संस्थाको काम कारबाहीसमेत प्रभावकारी हुन सकेको छैन ।
माउ पार्टीको महाधिवेशन ढिला भएका कारणले गर्दा अधिवेशन रोकिएको भए पनि अब भने गति लिने अपेक्षा उनीहरुको छ । यसका लागि नेपाल विद्यार्थी संघका नेताहरुले त पहलसमेत थालेका छन् ।
उनीहरुले कांग्रेसका नेताहरुलाई छुट्टाछुट्टै भेटेर आफ्नो विचारसमेत राखिसकेका छन् । उनीहरुले नेविसंघमा उमेर हदलाई गम्भीर साथ अपनाउनु् पर्नेमा जोड पनि दिएका छन् ।
त्यसैगरी दोस्रो एजेन्डाका रुपमापार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाका सम्बन्धमा पनि बैठकमा छलफल हुने एजेन्डा रहेको छ ।
महाधिवेशन सकिएको भए पनि केही जिल्लाको जिल्ला अधिवेशन हुन बाँकी छ ।
महाधिवेशनअघि १६ जिल्लाको अधिवेशन हुन बाँकी रहेको थियो । जसमा सबैभन्दा धेरै मधेस प्रदेशका सबै जिल्ला रहेका थिए ।