२४ वटा चिया उद्योगलाई ट्रेडमार्क

  आवाज संवाददाता

इलामसहित ६ जिल्लामा रहेका २४ वटा चिया उद्योगले ट्रेडमार्क पाएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २०७४ मा बनाएको नेपाली अर्थोडक्स चिया प्रमाणीकरण निर्देशिकाले तय गरेका मापदण्ड पूरा गरेका २४ उद्योगले ट्रेडमार्क पाएका हुन् । मापदण्ड पूरा गरेका थप दुई वटा उद्योगलाई ट्रेडमार्क प्रदान गर्ने तयारी भइरहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड प्रादेशिक कार्यालय झापाका प्रमुख गौरव लुइँटेलले बताए ।

नेपालमा उत्पादन हुने चियाको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि हिमाल अंकित टेड्रमार्क कार्यान्वयनमा ल्याइएको थियो । नेपालबाट निर्यात हुने अर्थोडक्स चियामा अब नेपाल टी क्वालिटी फ्रम दि हिमालयज उल्लेखित लोगो राखिएको हुन्छ ।

बजारमा बिक्री गर्न थालिएको १ सय ५७ वर्षपछि नेपाली चियाले आफ्नै टेड्रमार्क पाएको थियो । यसअघि व्यवसायीले आ–आफ्नै तवरमा चिया निर्यात गर्दै आएका थिए । नेपाली चियाका नाममा कम गुणस्तरको दार्जीलिङको चिया पनि निर्यात हुने गरेको थियो । यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको स्तरबारे प्रश्न उठेपछि गुणस्तर सुनिश्चित गरी ब्राण्डिङ गर्न टेड्रमार्क कार्यान्वयनमा ल्याइएको हो । अब चियाको निर्यात बढ्ने विश्वास छ ।

ट्रेडमार्कका लागि पहिलो चरणमा विभिन्न ४२ वटा व्यावसायिक कम्पनीले वोर्डमा निवेदन दिएका थिए । जसमध्ये दुई चरणमा २४ वटा कम्पनीले ट्रेडमार्क पाएका हुन् । तेस्रो चरणमा दुई वटा उद्योगले ट्रेडमार्क पाउने भएका छन् ।
पहिलो चरणमा इलामका नौसहित संखुवासभाको एक र तेह्रथुमका दुई वटा कम्पनीले ट्रेडमार्क पाएका थिए । ट्रेडमार्क पाउने चिया उद्योगहरुमा इलामका सन्दक्फू टी प्रोसेसर्स प्रालि, हिमालयन सांग्रीला टी प्रोड्यूसर्स प्रालि, जस्वीरे टी प्रशोधन उद्योग, गोर्खा टी इस्टेट प्रालि, नेपाल ग्रीन टी एण्ड स्पेसियालिटी, ओएसीस टी इन्ड्रस्टिज तारागाउँ टी इस्टेट रहेका छन् ।

त्यस्तै साखेजुङ्गहिल रेञ्ज चिया प्रशोधन उद्योग, श्री फार्मर टी प्रोसेसिङ्ग इण्डस्ट्री इलामका रहेका छन् । त्यस्तै संखुवासभाको सगरमाथा टी इस्टेट प्रालिले टे«डमार्क पाएको छ भने तेह्रथुमका बोक्रेडाँडा आर्याग्यानिक अर्थाेडक्स चिया प्रशोधन उद्योग र सिंहदेवी चिया उत्पादक सहकारी संस्थाले ट्रेडमार्क पाएका छन् ।

दोस्रो चरणमा पाँचथरको कञ्चनजंघा टी इस्टेट तथा रिसर्च केन्द्रसहित इलामका आरुवोटे टी इस्टेट प्रालि, ब्रदर्श अर्थाेडक्स चिया उत्पादक प्रालि, ग्रीन भ्याली टी प्रालि, ग्रीन हिल अर्थाेडक्स चिया प्रशोधन उद्योग, इलाम टी हाउस, माङ्लुङ चिया बगान, तीनजुरे चिया कृषक चिया सहकारी संस्था, आग्र्यानिक नेपाल चिया उद्योग प्रालि, नेपाल स्मल टी प्रोड्युर्स, लक्ष्मी टी इन्ड्रस्ट्रिज प्रालि र मोरङको मातृभूमि टी इस्टेट प्रालिले ट्रेडमार्क पाएका हुन् ।

तेस्रो चरणमा इलामकै कञ्चनजंघा चिया प्रशोधन उद्योग र मिष्ट भ्यालीलाई ट्रेडमार्क दिने तयारी गरिएको बताइएको छ ।

नेपालको अर्थोडक्स चिया अहिले अमेरिकादेखि जापानसम्म पुग्ने गरेको बताइएको छ । दक्षिण कोरियादेखि युरोपका देशमा पनि नेपाली चियाको माग रहेको तर, बजार हिस्सा भने बढ्न नसकेको बताइएको छ ।

बोर्डका अनुसार वार्षिक ६० लाख किलो अर्थाेडक्स चिया उत्पादन हुने गरेकोमा ५४ लाख निर्यात हुन्छ । तर, ८० प्रतिशत निर्यात भारतमा हुने गरेकाले व्यवसायीले राम्रो मूल्य पाउन सकिरहेका छन् । निर्यात वापत वार्षिक चार अर्ब रुपैयाँ भित्रिने गरेको छ । ब्रान्डिङ नभएकाले बजारीकरणमा समस्या थियो । अब गुणस्तर सुनिश्चित गरी मूल्य धेरै आउने तेस्रो देशमा बजार बढाउने बाटो खुलेको छ ।

नेपालमा वर्षेनि तीन अर्ब ८० लाख रुपैयाँ को चिया उत्पादन हुँदै आएको छ । नेपालबाट एक लाख १९ हजार २१ मेट्रिक टन चिया निर्यात हुने गरेको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा १६ हजार ९ सय एक हेक्टर क्षेत्रफलमा चिया खेती हुँदे आएको बताइएको छ । नेपालमा प्रसस्त चिया उत्पादन भए पनि भारत लगायतका मुलुकबाट समेत नेपालमा चिया आयात हुने गरेको छ । वोर्डको तथ्याङ्क अनुसार तीन करोड ४७ लाख रुपैयाँका चिया आयात भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार