ज्यातिषीसँगकाे परामर्शपछि देउवाले ताेके ३० वैशाखमा स्थानीय तहकाे चुनाब

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीसँगको परामर्शमा स्थानीय तह निर्वाचनको मिति तय गरेको खुलासा भएको छ । प्रधानमन्त्री देउवानिकट मानिने चर्चित ज्योतिषी सुरेशचन्द्र रिजालले वैशाख ३० मा निर्वाचन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

‘शुरूमा जेठ ४ को कुरा भएको थियो । त्यो दिन ज्येष्ठा नक्षत्र परेकाले राम्रो देखिएन’, रिजालले भने, ‘वैशाख ३० गते शुक्रबार हो र अमृत योग पनि परेको छ । अमृत योगमा गर्ने कार्य सफल हुने विश्वास गरिन्छ । त्यसैले वैशाख ३० को मिति प्रस्ताव गरेको हुँ ।’ यसअघि निर्वाचन आयोगसँगको परामर्शमा प्रधानमन्त्री देउवा २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सहमत भएका थिए । निर्वाचन आयोगले पनि जेठ ४ मा निर्वाचनको मिति घोषणाका लागि प्रस्ताव गृह मन्त्रालयमा पुर्‍याएको थियो ।

ज्योतिषीसँगको परामर्शपछि प्रधानमन्त्री देउवाले निर्वाचन आयोगसँग निर्वाचनको मिति अगाडि ल्याउनेबारे छलफल गरेका थिए । निर्वाचन आयोगले पनि प्रधानमन्त्रीले गरेको प्रस्तावमा सहमति जनायो । ‘निर्वाचन आयोगसँगको परामर्शमै वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय सरकारले गरेको हो’, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले  भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार