इलामका आठ स्थानीय तहको जनसंख्या घट्याे

इलामका १० मध्ये ८ पालिकाको जनसंख्या पाँचै वर्षमा घटेको छ। राष्ट्रिय जनगणना–२०७८ अनुसार सदरमुकाम रहेको इलाम नगरपालिका र चुरे क्षेत्रमा रहेको चुलाचुली गाउँपालिकाको जनसंख्यामात्र बढेको पाइएको हो।

२०७३ सालमा पालिका विभाजित हुँदा राष्ट्रिय जनगणना–२०६८ र तत्कालीन जिल्ला विकास समितिको जनसंख्या विवरणलाई आधार मानिएको थियो। संघीय मामिला तथा सामान्य प्रकाशन मन्त्रालयको विवरणअनुसार त्यतिबेला पालिकाअनुसार जुन जनसंख्या थियो, अहिले (२०७८ साल) इलाम र चुलाचुलीले मात्र त्यसलाई उछिनेका छन्। बाँकी ३ नगर र ५ गाउँपालिकाको जनसंख्या वृद्धिदर घट्दो देखिएको छ।

२०७३ सालमा नयाँ संरचनाका पालिका गठन हुँदा इलाम नगरको जनसंख्या ४८ हजार ५ सय ३६ थियो। अहिले यहाँको जनसंख्या १ हजार ९ सय १९ ले बढेको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले इलाम नगरको जनसंख्या ५० हजार ४ सय ५५ छ। चुलाचुली गाउँपालिकाको २०७३ को जनसंख्या २० हजार ८ सय २० रहेकामा अहिले १ हजार ७ सय ३६ ले बढेर २२ हजार ५ सय ५६ पुगेको छ।

पूर्वी पहाडकै ठूलो पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको जनसंख्यासमेत यो अवधिमा घटेको देखिएको छ। २०७३ सालमा सूर्याेदयको जनसंख्या ५६ हजार ६ सय ९१ रहेकामा अहिले घटेर ५५ हजार ४ सय ५७ भएको छ। देउमाईमा ३२ हजार ९ सय २७ रहेकामा ३१ हजार ५ सय ३१ र माई नगरपालिकामा २०७३ सालमा ३२ हजार ५ सय ७६ रहेको जनसंख्या २०७८ मा आइपुग्दा ३० हजार ९ सय ८८ मा सीमित भएको छ।

फाकफोकथुम गाउँपालिकामा २१ हजार ६ सय १९ रहेको जनसंख्या ५ वर्षपछि २० हजार ४ मा झरेको छ। माइजोगमाईको २०७३ सालको २१ हजार ४४ जनसंख्या अहिले १९ हजार २ सय ९५ मा आएको छ। माङ्सेबुङमा स्थानीय तह गठन हुँदा १८ हजार ५ सय ३ जनसंख्या थियो, अहिले १६ हजार ८ सय ९७ भएको छ। रोङमा १९ हजार १ सय ३५ जनसंख्या रहेकामा अहिले १७ हजार ५ सय ५५ छ। सन्दकपुर गाउँपालिकामा १६ हजार ६५ जनसंख्या रहेकामा अहिले १५ हजार ४ सय ६० रहेको विभाग र मन्त्रालयको तथ्यांक छ।

स्थानीय तह गठन भएपछि जिल्ला सदरमुकामको जनसंख्या घट्दो थियो भने सदरमुकामबाहिरका स्थानीय तहको केन्द्रमा बसोबासको आकर्षण बढेको देखिएको थियो। तर, तथ्यांक हेर्दा स्थानीय तह गठनपछि पनि सदरमुकामको जनसंख्या नै बढेको छ भने चुलाचुलीबाहेक अन्य स्थानीय तहको जनसंख्या ओरालो लागेको छ। राष्ट्रिय जनगणना २०७८ मा अस्थायी बसोबासलाई आधार मान्दा सदरमुकामको जनसंख्या केही बढी देखिनसक्ने भएपनि गाउँको जनसंख्यासमेत घट्नु चिन्ताको विषय भएको जनसंख्याका जानकारको भनाइ छ।

महेन्द्ररत्न बहुमुखी क्याम्पसको जनसंख्या शिक्षाका अध्यापक दामोदर चापागाईं अहिलेको अवस्थामा चाहिँ जनसंख्या घट्नु चिन्ताको विषय भएको बताउँछन्। ‘बसाइँसराइ, शिक्षा, चेतना, महिला अधिकार, सुविधाभोगी जीवनशैली र रोजगारीलगायत कारणले जनसंख्या घटेको देखिन्छ,’ उनी भन्छन्, ‘पहाडबाट तराईतिर बसाइँ सर्ने लहर चाहिँ जनसंख्या व्यवस्थापनको निकै दुःखद् अवस्था हो।’

अहिले पालिकामात्र होइन, सिंगो जिल्लाकै जनसंख्या घट्दोक्रममा छ। २०६८ सालको जनगणनाअनुसार इलामको जनसंख्या २ लाख ९० हजार २ सय ५४ रहेकामा स्थानीय तह गठनका बेला यो संख्या २ लाख ८७ हजार ९ सय १६ मा झरेको थियो। राष्ट्रिय जनगणना २०७८ मा यो जनसंख्या २ लाख ८० हजार ५ सय ६५ मा सीमित भएको छ।

नेपाल नगरपालिका संघ १ नम्बर प्रदेश संयोजक तथा इलाम नगरपालिका प्रमुख महेश बस्नेत पहाडी क्षेत्रको जनसंख्या टिकाउन चुनौती भइरहेको बताउँछन्। ‘स्थानीय तहको प्रयासले मात्र हिमाल र पहाडमा जनसंख्या टिकाउन सम्भव छैन, संघीय सरकारले नै पहल गर्नुपर्छ,’ उनी भन्छन्, ‘संघीय तहबाटै जनसंख्या व्यवस्थापनको पहल नहुने हो भने पहाड र हिमालको जनसंख्या केही वर्षपछि तराईमै थुप्रिनेछ। जनसंख्या व्यवस्थापन झन् जटिल बन्नेछ।’ उनले पूर्वाधार, स्रोत–साधनको समान वितरण र हिमाली–पहाडी क्षेत्रमा बसोबासको आकर्षक प्याकेज नै आवश्यक भएको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार