भारतीय जेलमा बिनासुनुवाई ४० वर्ष बसेका दुर्गाप्रसादले पाए प्रारम्भिक क्षतिपूर्ति

भारतीय जेलमा बिनाकसुर ४० वर्ष राखिएका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिनाले कोलकाता हाइकोर्टको आदेशअनुसार प्रारम्भिक क्षतिपूर्ति पाएका छन्। उनले आज (आइतबार) ५ लाख भारतीय रुपैयाँ (८ लाख) को चेक पाएका हुन्।

झापाको मेची भन्सार कार्यालयमा आयोजित कार्यक्रमका कोलकातास्थित महावाणिज्यदूत ईश्वरराज पौडेलले तिम्सिनालाई क्षतिपूर्ति रकमको चेक हस्तान्तरण गरे। त्यस अवसरमा पौडेलले पश्चिम बंगाल सरकारले तिम्सिनालाई प्रारम्भिक चरणको क्षतिपूर्ति दिएको र मुद्दा विचाराधीन रहेकाले अन्य सेवा सुविधामा यसले असर नगर्ने बताए।

कोलकाता हाइकोर्टले गत मंसिर दोस्रो साता छ साताभित्र दुर्गाप्रसादलाई क्षतिपूूर्ति दिन पश्चिम बंगाल सरकारका नाममा आदेश जारी गरेको थियो। न्यायाधीशद्वय राजर्षि भारद्वाज र प्रकाश श्रीवास्तवको इजलासले यस्तो आदेश दिएको हो। आदेशअनुसार महावाणिज्यदूत पौडेलले झापासम्म आएर चेक हस्तान्तरण गरेका हुन्। चेक लिन दुर्गाप्रसाद र उनको परिवार झापा पुगेको थियो।

दुर्गाप्रसादको बैंक खाता नभएको अवस्थामा समेत उनका परिवारसमेतको खातामा रकम पठाउन सक्नेगरी हाइकोर्टको आदेश थियो। दुर्गाप्रसादलाई चेक हस्तान्तरण गरिएको उनका भाइ (काकाका छोरा) प्रकाश तिम्सिनाले जानकारी दिए। ‘यो प्रारम्भिक क्षतिपूर्ति हो, मुद्दा हाइकोर्टमा विचाराधीन नै छ,’ प्रकाशले भने।

दुर्गाप्रसाद विराटनगरस्थित मानवसेवा आश्रममा बस्दैछन्। उनी आमाको काजकिरियाका लागि आफ्नो घर इलामको माई नगरपालिका–१०, लुम्बाक आएका थिए। पश्श्चिम बंगालकी एक महिलाको हत्या आरोपमा दुर्गाप्रसाद (दीपक जैसी)लाई पक्राउ गरी पश्चिम बंगालका विभिन्न जेलमा राखिएको थियो। जेल परेको ४० वर्षसम्म उनको मुद्दामा कुनै सुनुवाई नभएको थाहा पाएपछि २०७७ चैत ७ मा कोलकाता हाइकोर्टले तिम्सिनालाई छाड्न आदेश दिएको थियो।

कोलकातास्थित दमदम कारागारमा रहेका दुर्गाप्रसाद त्यहाँबाट छुटेपछि भोलिपल्ट आफ्नो घर इलामको माई नगरपालिका–१०, लुम्बाक फर्किएका थिए। उनले आफूले कसैको हत्या गरेको नभई आफूलाई फसाइएको बताइरहेका छन्। मानसिक समस्या रहेका दुर्गाप्रसादलाई चिकित्सकले उनले ९ वर्ष ९ महिनाको बालकको जस्तो बोली–व्यवहारमात्र गर्नसक्ने रिपोर्ट दिएका थिए। हाइकोर्टले महावाणिज्य दूतावासमार्फत् ६÷६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन पनि आदेश दिएको थियो।

लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उनलाई उपचारका लागि विराटनगर लगेर फर्काइएको थियो। १७ दिन उपचार गर्दा पनि पूर्ण रूपमा निको नभएकाले मानवसेवा आश्रममै लगिएको दुर्गाप्रसादका भतिजा गोपालले बताए। उनको उपचारका लागि १ नम्बर प्रदेश सरकार र माई नगरपालिकाले समेत आर्थिक सहयोग गरेका छन्।

२०३७ साल माघमा २० वर्षे उमेरका दुर्गाप्रसाद घर छाडेर बेपत्ता भएका थिए। त्यतिबेला उनको घर एकतप्पा गाउँ पञ्चायत–८, खँगुवा (हाल फाकफोकथुम गाउँपालिका)मा थियो। तर, पछि उनको परिवार लुम्बाकमा बसाइँ सरेको हो। घर छाडेकै वर्ष उनलाई हत्या आरोप लागेको थियो। २०७७ फागुनमा उनी दमदम कारागारमा छन् भन्ने पत्तो लागेपछि उद्धार गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार