स्थानीय तह निर्वाचनको मिति आउँदो वैशाख ३० लाई निश्चित भएपछि निर्वाचन आयोग तयारीमा जुटेको छ। जिल्ला निर्वाचन कार्यालय आन्तरिक रूपमा मतदाता नामावली यकिन गर्दै विवरण चुस्त बनाउन जुटेको छ।
जिल्लामा २०७४ सालभन्दा अहिले २५ हजार ८ सय ९० मतदाता थपिएका छन्। आउँदो चुनावका लागि अहिलेसम्म मतदाताको प्रारम्भिक संख्या २ लाख २९ हजार ९ सय ४४ छ। यीमध्ये १ लाख ११ हजार २ सय ७० महिला र २ तेस्रोलिङ्गी छन्। तर, यो संख्या अन्तिम नभएको र अन्तिम नामावली विवरण आउन बाँकी नै रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। २०७४ सालको निर्वाचनमा इलाममा २ लाख ४ हजार ५४ मतदाता थिए।
जिल्लाबाहिर मतदाता नामावलीमा नाम दर्ता गराइ इलामका केन्द्रबाट मतदान गर्न चाहने र जिल्लाबाहिरबाट इलाममा मतदान केन्द्र सार्नेहरूको विवरण आउन बाँकी नै रहेकाले यो संख्या अन्तिम भने नभएको कार्यालयले जनाएको हो। कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले कार्यालयहरूले आन्तरिक रूपमा मतदाताको विवरण यकिन गरिरहेको बताए। ‘निर्वाचनको मिति घोषणा भएपछि नयाँ नाम दर्ता, मतदान केन्द्र परिवर्तनलगायत सबै काम स्थगित छन्,’ उनले भने, ‘तर, निर्वाचन मिति घोषणाअघि नै नाम दर्ता गराएका र निवेदन दिएका मतदाताको विवरण भने कार्यालयले अपडेट गर्दैछ।’
विवरणअनुसार जिल्लाका पालिकामध्ये सबैभन्दा बढी मतदाता सूर्याेदय नगरपालिकामा छन्। सूर्याेदयमा २२ हजार २ सय २२ महिलासहित ४५ हजार ९ सय ८७ मतदाता छन्। सबैभन्दा कम माङ्सेबुङ गाउँपालिकामा ६ हजार १ सय ५९ महिलासहित १२ हजार ८ सय ९७ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।
इलाम नगरपालिकामा १८ हजार ७ सय १५ महिलासहित ३७ हजार ७ सय ७, देउमाई नगरमा १२ हजार ९ सय २७ महिलासहित २६ हजार ३ सय ७८ र माई नगरपालिकामा १२ हजार ९७ महिलासहित २५ हजार ९४ मतदाता छन्। गाउँपालिकामध्येमा सबैभन्दा बढी मतदाता चुलाचुलीमा छन्।
चुलाचुलीमा ९ हजार ४ सय ४ महिला र २ तेस्रो लिङ्गीसहित १८ हजार ८ सय १३ मतदाता छन्। माईजोगमाईमा ७ हजार ९ सय ४८ महिलासहित १७ हजार १ सय २६, फाकफोकथुममा ८ हजार १ सय ९१ महिलासहित १६ हजार ९ सय ६७, रोङमा ७ हजार २ सय ८२ महिलासहित १५ हजार ३ सय ४८ र सन्दकपुरमा ६ हजार ४ सय १७ महिलासहित १३ हजार ६ सय ४४ मतदाता रहेको निर्वाचन कार्यालयको प्रारम्भिक विवरण छ।
लिम्बूका अनुसार अस्ति मंसिरयता इलामबाहिरबाट मतदान गर्नेगरी फोटो खिचाएका र यहाँ मतदान केन्द्र भएका गरी ५ सय ७४ जनाले आफ्नो नामावली बाहिरी जिल्ला लगेका छन्। बाहिरबाट इलाममा मतदान केन्द्र सार्नेहरूसमेत रहेको उनले जनाए। ‘मतदाताको एक–एक फाइल हेर्दै दर्ता गरिएको सफ्टवेर विवरण रुजु गर्दैछौं,’ उनले भने, ‘केही दिनभित्रमा विवरण अपडेट भइसक्छ।’
२०६१ साल वैशाख २९ सम्ममा जन्मिएका र २०७९ साल वैशाख २९ सम्ममा १८ वर्ष उमेर पूरा हुनेले मतदान गर्न पाउनेछन्। तर, मतदान गर्न निर्वाचन घोषणा हुनुअघिकै मितिमा फोटोसहितको नामावलीमा नाम टिपाइसकेको हुनुपर्नेछ।
मतदानस्थल हेरफेर र थप
जिल्लामा अबको निर्वाचनका लागि मतदानस्थल थपिएका र हेरफेर गरिएका छन्। यसअघि १ सय ४४ मतदानस्थल र २ सय ६६ मतदान केन्द्र रहेकामा अब मतदानस्थलको संख्या १ सय ५१ पुगेको छ। मतदान केन्द्रको संख्या भने टुंगो लागिसक्न बाँकी छ। आयोगले १ हजार ५६ मतदाताका लागि एउटा र त्योभन्दा बढी भए २ मतदान केन्द्र निर्धारण गर्छ। निर्वाचन कार्यालयका अनुुसार इलाम नगरपालिका ५ को कार्यालय (पुरानो बरबोटे गाविस भवन)को मतदानस्थल अब त्यही वडाको कभर्ड हलमा सारिएको छ।
इलाम नगरपालिका ७ को बालमन्दिर आधारभूत विद्यालय र आदर्श आधारभूत विद्यालयमा रहेको मतदानस्थल अब महेन्द्ररत्न बहुमुखी क्याम्पसमा सारिएको छ। इलाम नगरपालिका ९ को पोखरी आधारभूत विद्यालयको केन्द्र इलाम उच्च माविमा सारिएको छ। चुलाचुली गाउँपालिका ६ को गीताञ्जली आविका केही मतदाताको मतदानस्थल राष्ट्रप्रेमी माविमा सारिएको छ। देउमाई नगरपालिका २ स्थित सिंहदेवी आविको मतदानस्थल रत्न–बम प्रतिष्ठानमा सारिएको कार्यालयले जनाएको छ।
फाकफोकथुम गाउँपालिका ४ को सरस्वती आविमा नयाँ मतदानस्थल तोकिएको छ। यहाँको विष्णु माविका केही मतदाताले अब सरस्वती आविबाट मतदान गर्नेछन्। फाकफोकथुम ६ को फलाँटे मावि, वडा ७ को जन आवि, माङ्सेबुङ ४, मार्चेबुङको विद्यासिर्जनात्मक आवि, रोङ गाउँपालिका २, शान्तिपुरको शान्तिपुर मावि, वडा ६ को पाटापुर आवि र सन्दकपुर गाउँपालिका १, आलुबारीको चन्द्रोदय आविमा नयाँ मतदानस्थल थपिएको सूचना अधिकारी लिम्बूले जानकारी दिए।