मछिन्द्रका व्यवस्थापक अनिल श्रेष्ठ दशरथ रंगशालाको गेट छिर्नेबित्तिकै सरासर पोस्ट तिर अघि बढे । उनले त्रिपुरेश्वरतर्फको पोस्टका दुवै पोलमा ढोगे । अनि ‘ड्रेसिङ रुम’मा छिरे । प्लेयर बक्समा पुगेपछि अगाडि गएर फेरि मैदानमा ढोगे ।
लिगका प्राय सबै खेलमा उनले खेल मैदान ढोक्छन् । तर आज उनले पोस्टको पोल पनि ढोगे । उनी चाहन्थे आज टिमले राम्रो नतिजा निकालोस् । कारण आजको खेल मछिन्द्रका लागि महत्वपूर्ण थियो । सातदोबाटो युथविरुद्ध जितेमा मछिन्द्रले लगातार दोस्रोपटक उपाधि जित्ने थियो ।
अनिलकै चाहनाअनुरूप खेलाडीले प्रदर्शन गरे । पहिलो हाफमा गोलका केही अवसर खेर फाले पनि मछिन्द्रले ५३औँ मिनेटमा नुर्लान नोभ्रोजोभले गरेको गोलबाट अग्रता लियो । अजरबैजानका उनै नर्लानले गरेको गोल मछिन्द्रलाई जितमा निर्णायक बन्यो । सुनिल बलले वायाँ भागबाट गरेको क्रसमा देवेन्द्र तामाङले ६ यार्ड बक्सबाट हेडिङ प्रहार गरेका थिए । देवेन्द्रको प्रहार सातदोबाटोका गोलकिपर अभिषेकले बचाए । तर क्रसबार लागेर रिबाउन्डमा आएको बललाई नुर्लानले पोस्टको दिशा दिएका थिए ।
मछिन्द्रले ११ खेलबाट २९ अंक जोडेको छ । दोस्रो स्थानको मनाङले १० खेलबाट २० अंक जोडेको छ । मनाङले अब तीनै खेल जिते पनि ‘हेड टु हेड’का आधरमा मछिन्द्र अगाडि हुनेछ । मछिन्द्रले मनाङलाई छैटौँ चरणमा १–० ले हराएको थियो ।
यससँगै मछिन्द्र आधुनिक फुटबलमा लगातार दास्रोपटक उपाधि जित्ने तेस्रो टिम बनेको छ । यसअघि मनाङ र नेपाल पुलिस क्लबले उपाधिमा ह्याट्रिक गरेका थिए ।
गोलपछि मछिन्द्रका खेलाडीले २१ नम्बरको जर्सी प्रदर्शन गरेका थिए । रेफ्री प्रज्वल क्षेत्रीले ‘किकअफको ह्विसल’ बजाउनुअघि पनि मछिन्द्रका खेलाडीले २१ नम्बरको जर्सी प्रदर्शन गरे । कारण २१ नम्बर जर्सी मनिष डाँगीले लगाउँछन् । मनिष उनै खेलाडी हुन्, जो च्यालस युथविरुद्धको अघिल्लो खेलमा मैदानमै बोहोस भएका थिए । हेडिङ गर्नेक्रममा च्यासलका यानिक केचासँग टाउको ठोकिदाँ मनिष मैदानमै बेहोस भएका थिए । उनलाई मैदानमै एम्बुलेन्स लगेर अस्पताल लौजानु परेको थियो ।
अहिले मनिष अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । आराम गरिरहेका मनिषले लिगका बाँकी खेल गुमाउने छन् । उनै मनिषको सम्झनामा मछिन्द्रका खेलाडीले जर्सी प्रदर्शन गरेका थिए । र, शीघ्र स्वास्थ्य लाभको कामना गर्दै गोल मनिषलाई समर्पण गरेका थिए ।
मछिन्द्रले यो लगातार छैटौँ जित हो । मछिन्द्रले अब थ्री स्टार र एपीएफसँग खेल्नेछ । मनाङले भोलि एपीएफसँग खेलेपछि न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मीसँग खेल्नेछ । पराजित सातदोबाटो भने १५ अंकका साथ छैटौँ स्थानमा यथावत छ ।
मछिन्द्रले ११ मध्ये ९ खेल जितेको छ भने दुईमा बराबरी गरेको छ । मछिन्द्र जारी लिगमा अहिलेसम्म अपराजित छ । जारी लिगमा अपराजित हुने अर्को टिम हो त्रिभुवन आर्मी क्लब हो । मछिन्द्रले ११ खेलमा १७ गोल गरेको छ भने एक गोलमात्र आएको छ ।
१९औँ मिनेटमा विमल घर्तिमगरले विपक्षी दुई रक्षकलाई कटाएर १८ यार्डबाट हानेको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले मुस्किलले बचाएका थिए । विमलले विशाल श्रेष्ठको लामो पासलाई नियन्त्रणमा लिएका थिए । त्यसको पाँच मिनेटपछि विमल पुनः अभागी भए । २४औँ मिनेटमा नुर्लान नोभ्रोजोभले क्रसमा विमलले पेनाल्टी क्षेत्रबाट गरेको हेडिङ प्रहार सातदोबाटोका गोलकिपर अभिषेकले बचाइदिएका थिए ।
२९औँ मिनेटमा भने मछिन्द्र भाग्यमानी सवित भयो । सातदोबाटोका आकाश बुढामगरको कर्नर राम्रोसँग क्लियर नहुँदा सातादोबाटो खेलाडीले पटक पटक हानेको प्रहारलाई मछिन्द्रका गोलकिपर विशालले बचाइदिएका थिए । ३२औँ मिनेटमा मछिन्द्रका गोलकिपर विशालले पुनः उत्कृष्ट बचाए गरे । सातदोबाटोका कप्तान मानबहादुर तामाङको फ्रीकिकमा मार्टिन नान्गाले पेनाल्टी बक्सभित्रबाट हानेको हेडिङ प्रहार विशालले उत्कृष्ट बचाउ गरेका थिए ।