७२ औं प्रजातन्त्र दिवसका अवसरमा इलाम कारागारबाट पाँच कैदीबन्दी रिहा भएका छन् । सरकारले विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका मध्ये पाँचलाई बाँकी कैद मिनाह गरेको हो । मुद्दाको प्रकृति हेरि जम्मा कैदको ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीहरुलाई बाँकी कैद मिनाह गर्ने गरेको छ ।
यसपटक इलामका सवारी ज्यान मुद्दाका दिनेश लामिछाने, सावारी ज्यानकै झापा काँकडभिट्टाका लिलाराज गौली, वन पैदावार ओसारपसार मुद्दाका इलामका कोविद भन्ने केशव दाहाल, कतव्र्य ज्यान मुद्दाका भारत पश्चिम बंगालका राजु चौधरी र पश्चिम बंगालकै चोरी मुद्दाका श्याम थापा मगर रहेको इलाम कारागारले जनाएको छ । यसपटक कारागारले यहाँ रहेका १४ जनाको बाँकी कैद माफी मिनाहका लागि विभागका सिफारिस गरेको थियो ।
१४ मध्ये पाँच जनालाई मात्र मिनाह भएको कारागारका नायब सुब्बा मोहन राजवंशीले बताए ।
यता एक सय २५ कैदीबन्दीको क्षमता रहेको कारागारमा दुई सय ८१ जना कैदीबन्दी राख्नु पर्दा समस्या भएको राजवंशी बताउँछन् । २५ महिला र २५६ पुरुष कैदी बन्दी रहेको कारागारमा दरबन्दीको स्वास्थ्य कर्मीको पदनै रिक्त हुँदा सामान्य स्वस्थ्य जाँच गर्न समेत कठिनाइ भइरहेको राजवंशीले जानकारी दिए । ‘तीन जना महिला गर्भवती छन्, ज्येष्ठ नागरिक, केही मानसिक समस्या भएका कैदी बन्दी र ग्याष्टिकको विरामी भएका कैदीबन्दी समेत भएकाले उनीहरुलाई इलाम अस्पताल सम्म पठाउन समेत समस्या हुने गरेको छ ।’राजवंशीले भने ‘कारागारको आफ्नै सवारी छैन, कोहीबेला र सबैलाई अस्पताल लानुपर्दा सुरक्षाकर्मीसमेत अपुग हुने गरेको छ ।’
कारागारमा करिब दुईवर्ष यता स्वास्थ्यकर्मीको दरबन्दी रिक्त अवस्थामा छ । विभागमा स्वास्थ्यकर्मीको माग गर्दै पटक(पटक ताकेता गर्दा पनि केही नलागेको राजवंशी बताउँछन् । कारागारको सावारी साधनको कथा बेग्लै छ । ‘एउटा पुरानो र एउटा केही वर्ष अघि विभागबाट पठाइएका गरि दुईवटा सवारी साधन छन्, दुवै काम नदिने र पुराना सवारी भएकाले त्यसको मर्मत गर्न नहुने अवस्थाले थन्किएका छन्,’ उनले भने ‘दुवै सवारी नचल्ने भएपछि सवारी चालकलाई पनि विदा दिइएको छ, यहाँ आवश्यक पर्दा भाडामै सवारी खोज्नु पर्ने बाध्यताले कारागारलाई अर्को समस्या थपिएको छ ।’
युनिटी अस्पतालको लागि आएको नयाँ एम्बुलेन्स पनि कारागारकै आँगनमा राखिएको छ । तर, काम लाग्ने सवारी नहुँदा एक जना विरामीलाई अस्पताल पु¥याउन ६ सय रुपैयाँ यातायात खर्च हुने गरेको बताइएको छ ।