जब पत्रकार भण्डारीले आफैलाई सम्मान गरेको कार्यक्रममा माला नकारे

फागुन ७ गतेका दिन इलामको सूर्योदय नगरपालिका नगर कार्यपालिकाको हलमा स्रष्टा सम्मान कार्यक्रम चल्दै थियो । निरा रशिक फाउण्डेसनले दुई स्रष्टा र एक पत्रकारलाई सम्मान गरिरहेको थियो । सम्मानित हुनेमा थिए, स्रष्टा एलवी जोशी, चुडामणी शर्मा र पत्रकार चन्द्र भण्डारी । सम्मानित हुनञ्जेल सबै स्रष्टा खुसी थिए । स्टेजमा शर्मा अस्वस्थताका कारण उपस्थित थिएनन् भने जोशी र भण्डारी अग्रज पंक्तिमै थिए । कार्यक्रममा सञ्चालक राजुकमार दाहालले सम्मानित व्यक्तिलाई मन्तब्य राख्न दिए । यस सन्दर्भमा भण्डारी बोल्न माइक्रोफोनमा पुगे । भण्डारी कञ्चनजंगा एफएमका प्रवन्धक हुन् ।

उनको परिचय यो मात्र होइन उनी पत्रकार महासंघका पूर्व महासचिव पनि हुन् । यति मात्र नभई उनी राज्य प्रणाली परिवर्तनका लागि दशकसम्म जेल भोगेका हुन् । यसैपनि भण्डारी बोल्नमा माहुर छन् । उनले स्टेजमा पुगेका सबैसामु खुसी व्यक्त गरे । सम्मानित गर्ने गणेश रसिकलाई त रसिक ‘व्यक्ति नभई संस्था’को उपमा दिए । रसिकका दुःखसुखका कुरा निकाले । एक सरो इलाम सम्झिँए । विश्वका दजर्नौ मुलुक घुमेपनि मुलुक सबैभन्दा नेपाल सुन्दर लागेको बताए ।

उनले नेपालमा पनि इलाम सबैभन्दा सुन्दर लागेको सुनाए । त्यसपछि उनले आफैलाई पहिरिन तयार बनाइएको मालाको विषय निकाले । “माफ गर्नुहोला , रसिकजी मैले माला लगाउन सकिन ।” सबैकुराको स्पष्ट वक्ता भण्डारीले यो विषयलाई पनि साङ्गोपाङ्गो वर्णन गरिदिए । मालाको विषयलाई लिएर इलाम, अनि फिक्कल र त्यसपछि रसिकलाई नै प्रश्न उठाए । उनले मालातर्फ दृष्टिवत गर्दै भने,“यो माला नेपालको होइन । भारतको कलकत्तामा बनेको हो । यसमा डोरी प्रयोग गरिएको छ ।”भण्डारीले निरन्तर भनिरहे,“डोरीमा सुत्ली लगाइएको छ । यो मान्छेलाई लगाउन मिल्दैन ।” भण्डारीले मालाको विस्तृत जानकारी गराए । “यो मालालाई ताजा राख्नका लागि फमोलिनभन्ने विषादी राखिएको हुन्छ । जुन विषादी कतारमा मरेको मान्छे नकुवाउनका लागि प्रयोग गरिन्छ ।” भण्डारीले थपे,“त्यसैले राख्न मिल्दैन ।”

उनले आउँदा कार्यक्रममा यस्तो माला प्रयोग नगर्न पनि आग्रह गरे । यसको सट्टा फिक्कलकै मालाको प्रयोग गर्न अनुरोध गरे । “के फिक्कलमा माला पाइदैन । आफ्नै बारीमा सयपत्री माला लगाउनुहोस् । वा छैन भने चियावारी फाँडेर लगाउनुहोस् । नभए रसिक दाइकै बारीको एउटा कुनामा फूल लगाउनुहोस् । तर, यस्तो माला प्रयोग नगर्नुहोस् ।”

भण्डारीले यी मात्र नभई धेरै विषयमा आयोजक र इलामप्रति सहानुभूतिप्रकट गर्दै विभिन्न विषयमा आग्रह गरे । उनले आफू वरिष्ठ पत्रकार वा अभियान्ता नभएको र नभन्न आग्रह गरे । हक्की स्वभावका रेडियोकर्मी भण्डारीले सम्मानबाट पुलकित भएपनि आउँदा दिनमा थप भारी बोकेको महसुस गरेको सुनाए । कार्यक्रममा भण्डारीसहित एलवी जोशी र चुडामणी शर्मालाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार