चुनावअघि नहु्ने भाे इलामका स्थानीय तहकाे वडा विभाजन

इलामका तीन स्थानीय तहले गरेको वडा विभाजनको प्रस्ताव कार्यांन्वयन नहुने भएको छ । स्थानीय तहले गरेको वडा विभाजनको प्रस्तावमा कुनै निर्णय नगरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकाले स्थानीय तहको प्रस्ताव कार्यान्वयन नहुने भएका हुन् ।
सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहको निर्वाचन हुनुभन्दा एक बर्ष पहिलेनै वडा विभाजनको निर्णय भइसक्नुपर्ने थियो । संघीय सरकारले स्थानीय तहले गरेको वडा विभाजन सम्बन्धि प्रस्तावमा टुंगो नलगाई चुनाव घोषणा गरेपछि वडा विभाजनसम्बन्धी प्रस्ताव अलपत्र परेका हुन् ।
इलामको इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माङसेबुङ गाउँपालिकाले पालिकाको सभाबाट वडा विभाजन गर्ने प्रस्ताव गरेका थिए । पालिकाको सभाबाट पारित प्रस्ताव प्रदेश सरकार हुँदै संघीय सरकारसम्म पुग्छ । पालिकाको सभाबाट दुई तिहाइ मतले पारित प्रस्ताव प्राप्त भएको छ महिनाभित्रमा संघीय सरकारले निर्णय गर्नुपर्ने कानुनी प्रावधान छ । तर, पालिकाले प्रस्ताव पठाएको बर्षौसम्म कुनै निर्णय नगरी चुनाव घोषणा भएपछि वडा विभाजनको निर्णय चुनावअघि नहुने निश्चित छ । चुनाव पछि वडा विभाजनको निर्णय भएपनि त्यसको अर्को चुनावबाट मात्रै त्यसको कार्यान्वयन हुने छ । तर, आउँदो स्थानीय तहको निर्वाचन पछि पालिकाहरुमा अर्को सभा गठन हुने छ ।
वडा विभाजन गर्नुपर्ने भए अर्को सभाले फेरि निर्णय गरेर पठाएपछि संघीय सरकारले निर्णय गर्नुपर्ने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । ‘सरकारले अहिले वडा विभाजन नगरी चुनाव गर्ने भन्यो’,उनले भने,‘अब वडा विभाजन गर्नुपर्ने भए अब बन्ने चुनावबाट गठन भएको सभाले फेरि निर्णय गरेर पठाउनुपर्ने हुन्छ ।’
इलाम नगरपालिकाले करिव दुई वर्ष अघिनै प्रक्रिया पुरा गरेर वडा विभाजनको प्रस्ताव एक नम्बर प्रदेश सरकारमा पठाएको थियो । प्रदेश सरकारले पनि वडा विभाजनको लागि संघीय सरकारलाई पठाएको थियो । तर, संघीय सरकारले वडा विभाजन सम्बन्धि निर्णय नगरी चुनाव घोषणा गरेको हो । ठूलो भूगोल र जनसंख्या भएका कारण सेवा प्रवाहमा कठिनाई देखिएका वडालाई पालिकाहरुले विभाजन गर्ने प्रस्ताव गरेका थिए । इलाम नगरपालिकाले नवौं नगरसभाबाट वडा नं. ९ लाई विभाजन गर्ने प्रस्ताव पारित गरेको थियो । साविकको इलाम नगरपालिकाको ३, ४ र ५ नम्बर मिलाएर बनाइएको वडा नम्बर ९ लाई विभाजन गर्ने नगरपालिकाको प्रस्ताव छ । साविकको वडा नम्बर ३ लाई विभाजन गर्ने, त्यसमा साविकको ४ नम्बर वडाको क्षेत्रफल मिसाएर एउटा वडा बनाउने र साविकको ४ नम्बर वडाको भूगोलमा बाँकी रहेको ३ को भाग मिलाएर अर्को वडा कायम गर्ने प्रस्ताव नगरसभाबाट पारित भएको थियो । नगरपालिकाले विभाजनको लागि प्रस्ताव गरेको वडाको जनसंख्या, मतदाता नामावलरु, वडाको केन्द्र र दुई वडाबीचको प्राकृतिक सीमा समेत यकिन गरिएको थियो ।
सूर्योदय गरपालिकाले वडा नम्बर १ गोर्खेलाई विभाजन गर्न प्रस्ताव गरेको थियो । साविक गोर्खे गाविसको वडा नम्बर ४ को भूगोल निकै ठूलो भएकाले सोही वडालाई विभाजन गरेर अर्को वडा कायम गर्ने नगरपालिकाको सिफारीस थियो । माङसेबुङ गाउँपालिको वडा नम्बर ३ लाई विभाजन गरेर दुईवटा वडा बनाउने प्रस्ताव गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार