जनसंख्या घट्नु चिन्ता विषय बन्दै


इलाम । तीन वर्ष अघि इलाम नगरपालिकाले सुत्केरीलाई दिने पोषण सुविधामा थप गरेर नयाँ निर्णय ग¥यो । नगरकार्यपालिकाको बैठकलेनै निर्णय गरेर नगरक्षेत्रमा रहने जनसंख्यालाई टिकाइ राख्न दुईवटा सम्म बच्चा हुने सुत्केरीलाई दुई हजार, तीन वटा बच्चा हुनेलाई तीन हजार गर्दै पाँचवटा सम्म बच्चा हुनेलाई पाँच हजार र त्यसमाथि बच्चा हुनेलाई पनि पाँच हजार रूपैयाँ नगद उपलब्ध गराउने गरि निर्णय गरेको थियो ।
नगरकार्यपालिकाको उक्त बैठकले प्रत्येक बच्चा जन्मिदा सुत्केरी महिलाका पतिलाई हरेक पटक १५ दिन कामबाट विदा दिने पनि निर्णय गरको थियो । यस्तै बच्चा जन्माउन सहज गराउने उद्देश्यले नगरपालिका भित्र रहेका कर्मचारी महिला पुरूष अलग–अलग स्थानमा भए एकै ठाउँमा जागिर मिलाइ दिने र उनीहरूलाई सँगै बसाउने व्यवस्था पनि गरेको थियो ।
यसको अर्थ नगरपालिकामा रहेको जनसंख्या नघटोस बरु वृद्धिनै होस र सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्य तथा पोषण अवस्था राम्रो हो भन्नेनै हो । तर, नगरकार्यपालिकाको यो निर्णय पछि इलाममा निकै खैलाबैला मच्चियो, केही महिला नेतृहरुले विरोध स्वरुप नारा जुलुसनै गरे । यतिमात्र होइन संघीय संसदमानै सांसद विरोध खतिवडाले त इलाम नगरपालिकाले गरेको निर्णय विरुद्ध आवाज उठाए । अन्ततः नगरकार्यपालिकाले गरेको निर्णय कार्यान्वयन त भयो, तर निर्णयको विरोध जुन ढंगले गरिएको थियो त्यस अनुसार जनसंख्या भने वृद्धि भएन । महिलालाई मेशिन जस्तै ठानियो भन्ने महिलाहरुले आपत्ति पनि जनाए तर, त्यस अनुसार पनि सुविधा लिनेको संख्या कमैमात्र नगरपालिकामा छ ।
तीन वर्ष अघि नगरकार्यपालिकाले जुन ढंगले जनसंख्या नघटोस भनेर पनि निर्णय गरेको थियो । तर, तीन वर्षपछि भएको जनगणनाको नतिजाले पनि इलाम नगरपालिकाको होइन जिल्लाकै जनसंख्या वृद्धिदर घट्दो अवस्थामा रहेको पाइयो ।
‘इलामको जनसंख्याको वृद्धिदर घट्दो छ । जहाँ जनसंख्या धेरै हुन्छ त्यहाँ सुविधा पनि बढी हुन्छ । अबको २० वर्ष पछि इलाम नगरलाई उपमहानगर पालिका बनाउन पनि दुई लाख जनसंख्या चाहिन्छ, त्यसैले कजनसंख्या बढाउने ध्येयमा हामी छौं’ नगर प्रमुख महेश बस्नेतले त्यसैबेला भनेका थिए ‘अहिले इलाम नगरपालिकाको अवस्था हेर्दा उत्तरी क्षेत्रमा जनसंख्या धेरै कम भएको छ । शहरी क्षेत्रमा केही बसोबास बढेपनि तराई तिर बसाईं सर्ने प्रक्रियाले पनि जनसंख्या घट्दो छ । अहिले को मान्छेको औषत आयु ७१ वर्ष पुगेको छ । अब केही वर्षमा इलाम वृद्धवृद्धा मात्र भएको नगर हुने छ । त्यसैले अहिलेनै हामी सचेत हुनुपर्ने अवस्था छ ।’ तीनवर्ष अघि इलाम नगरपालिकाको जनसंख्या ४८ हजार ५३६ रहेको थियो । तीनवर्ष पछि भएको जनगणनामा इलाम नगरपालिकाको जनसंख्या ५० हजार ४ सय ५५ पुगेको छ अर्थात १ हजार ९ सय १९ ले बढेको छ । यो वृद्धिदर भनेको जन्मका आधारमा मात्र नभइ बसाईं सराइ पनि कारण रहेको नगरपालिकाले जनाएको छ । तर, जुन ढंगले नगरपालिकाको जनसंख्या बढ्नुपर्ने हो त्यो अनुसार नहुँदा भने अवस्था चिन्ता जनकनै रहेको इलाम नगरपालिका प्रमुख बस्नेत बताउँछन् । नेपाल नगरपालिका संघ १ नम्बर प्रदेश संयोजक समेत रहेका बस्नेतले पहाडी क्षेत्रको जनसंख्या टिकाउन स्थानीय तहलाई चुनौती भइरहेको बताए । ‘स्थानीय तहको प्रयासले मात्र हिमाल र पहाडमा जनसंख्या टिकाउन सम्भव छैन, संघीय सरकारले नै पहल गर्नुपर्छ,’ बस्नेत भन्छन्, ‘संघीय तहबाटै जनसंख्या व्यवस्थापनको पहल नहुने हो भने पहाड र हिमालको जनसंख्या केही वर्षपछि तराईमै थुप्रिनेछ । जनसंख्या व्यवस्थापन झन् जटिल बन्नेछ ।’ बस्नेतले पूर्वाधार, स्रोत–साधनको समान वितरण र हिमाली–पहाडी क्षेत्रमा बसोबासको आकर्षक प्याकेज नै आवश्यक भएको बताए ।
त्यसोत स्थानीय तह गठन भएपछि जिल्ला सदरमुकामको जनसंख्या घट्दो थियो भने सदरमुकामबाहिरका स्थानीय तहको केन्द्रमा बसोबासको आकर्षण बढेको देखिएको थियो । तर, तथ्यांक हेर्दा स्थानीय तह गठनपछि पनि सदरमुकामको जनसंख्या नै बढेको छ भने चुलाचुलीबाहेक अन्य स्थानीय तहको जनसंख्या ओरालो लागेको छ । राष्ट्रिय जनगणना २०७८ मा अस्थायी बसोबासलाई आधार मान्दा सदरमुकामको जनसंख्या केही बढी देखिनसक्ने भएपनि गाउँको जनसंख्यासमेत घट्नु चिन्ताको विषय भएको जनसंख्याका विषय विज्ञको भनाइ छ ।
इलाम स्थित महेन्द्ररत्न बहुमुुखी क्याम्पसको जनसंख्या शिक्षाका अध्यापक दामोदर चापागाईं अहिलेको अवस्थामा चाहिँ जनसंख्या घट्नु चिन्ताको विषय भएको बताउँछन् । ‘बसाइँसराइ, शिक्षा, चेतना, महिला अधिकार, सुविधाभोगी जीवनशैली र रोजगारीलगायत कारणले जनसंख्या घटेको देखिन्छ,’ उनी भन्छन्, ‘पहाडबाट तराईतिर बसाइँ सर्ने लहर चाहिँ जनसंख्या व्यवस्थापनको निकै दुःखद् अवस्था हो ।’
अहिले पालिकामात्र होइन, सिंगो जिल्लाकै जनसंख्या घट्दोक्रममा छ । २०६८ सालको जनगणनाअनुसार इलामको जनसंख्या २ लाख ९० हजार २ सय ५४ रहेकामा स्थानीय तह गठनका बेला यो संख्या २ लाख ८७ हजार ९ सय १६ मा झरेको थियो । राष्ट्रिय जनगणना २०७८ मा यो जनसंख्या २ लाख ८० हजार ५ सय ६५ मा सीमित भएको पाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार