इतिहास संरक्षण गर्दै इलाम नगरपालिका

sdr

इलाम । अचेल इलाम बजार आइपुग्ने आन्तरिक पर्यटकहरु विभिन्न स्थानमा पुगेर विभिन्न व्यक्तिका प्रतिमा अगाडि फोटो खिच्न खिचाउन निकै व्यस्त देखिन्छन् । इतिहासलाई कसरी स्मरण गर्ने ? हरेकका आ–आफ्नै शैली हुन्छन् । त्यस्तै इतिहासलाई सम्झना गर्न इलाम नगरपालिकाले फरक तरिका अपनाएको छ । जिल्ला र देशमै ऐतिहासिक कहलिएका व्यक्तिहरुको प्रतिमा स्थापना गर्दै इलाम नगरपालिकाले इतिहास संरक्षण गर्दैछ ।
नेपालकोे इतिहास र जिल्लाको इतिहासलाई जीवित राख्न नगरपालिकाले योगदान गर्ने व्यक्तिहरुको सम्झनामा विभिन्न स्थानमा प्रतिमा स्थापना गरिरहेको नगरप्रमुख महेश बस्नेतको भनाइ छ । यी विभिन्न व्यक्तिले राष्ट्र निर्माणमा पु¥याएको योगदान स्वरुप उनीहरुको सम्मानमा प्रतिमा स्थापना गरिएको प्रमुख बस्नेत बताउँछन् । ‘इतिहासलाई जोगाउन र सम्बन्धित व्यक्तिको सम्मानमा प्रतिमा स्थापना गरिएको हो ।’ बस्नेतले भने ‘इलाम भित्रने पाहुनाका लागि पनि यहाँको कला, संस्कृतिका विषयमा जानकारी होस भन्ने उद्देश्य हो ।’
त्यसोत, पछिल्लो पटक इलाम नगरपालिकाको सिंहवाहीनी खोल्सीमा स्थापना गरिएको राजा जनकको प्रतिमा अनावरण भयो । इलाम अस्पताल र इलाम चोक बजारको फोहोरमैला बग्ने खोल्सीलाई इलाम नगरपालिकाले विभिन्न प्रयोजनका लागि खोल्सी व्यवस्थापन गर्दै रमित हेर्न योग्य स्थानका रुपमा परिणत ग¥यो । अहिले यही स्थानमा स्वास्थ्यकर्मीको प्रतिमा, स्रस्टा पार्क, कवर्ड हल, पशुहाट निर्माण सम्पन्न गर्दै नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को बीचमा रहने गरि राजा जनकको प्रतिमा समेत स्थापना गरियो ।
राजा जनकको प्रतिमा स्थापना हुँदै गर्दा यो प्रतिमा संगै इलाम नगरपालिकामा दर्जनबढी प्रतिमाहरु स्थापना भएका छन् । कुनै सांकेतिक रुपमा प्रतिमा रहेका छन् भने कुनै स्वयं व्यक्तिको प्रतिमा स्थापना गरिंदै छ । इलाम बजारमा केही वर्ष २०३५ सालमा तात्कालिन पञ्चायती शासकहरुद्धारा हत्या गरिएका शहीद रत्नकुमार वान्तवाको मात्र शालिक थियो । स्थानीय तह हुन अघि नगरपालिकामा आदिकवि भानुभक्त आचार्य, भाषा शास्त्री महानन्द सापकोटा, साहित्यकार विष्णु नविन, साहित्यकार तथा राजनीतिज्ञ विपी कोइरालाको प्रतिमा स्थापना भएका थिए ।
स्थानीय सरकार गठन भएपछि नगर कार्यपालिकाले ०७६ साउन ५ गते अरनिको, नेपाल संवतका प्रर्वद्धक शंखधर साख्वा, भगवान गौतम वुद्ध, नेपालमा चिया रोपण शुरु गर्ने गजराजसिंह थापा र चिया श्रमिक महिलाको प्रतिमा स्थापना गर्ने निर्णयनै गरेको थियो । यी मध्ये भगवान गौतम वुद्धको मात्र प्रतिमा स्थापना गर्न बाँकी रहेको र बौद्ध पार्क निर्माण भइरहेको इलाम नगरपालिकाका शाखा अधिकृत रामकुमार साहले बताए । नेपाल बैंक अगाडि शंखधर साख्वा, नेपालकै पूरानो चिया कारखाना नजिकै चियाबारीमा तात्कालिन बडाहाकिम गजराजसिंह थापाको र इलाम चोक बजारमा चिया श्रमिक महिलाको प्रतिमा राखिएको छ ।
नगरपालिकामा निर्णय भए बाहेकका अरनिको सांस्कृतिक संग्रहालमा अरनिको, नौमति बाजा वादक समुहको प्रतिमा पनि स्थापना गरिएको छ । संग्रहालय संगै साहित्यकार पारिजातको प्रतिमा तयारी हुँदैछ । यो संगै किराँत राईहरुको पूजास्थल ओपी धारामा किराँत देवता पारुहाङ, चियाबारीमा लिम्बू जातिको संस्कृति झल्कने लिम्बू समुदायका महिला र पुरुषको पोशाकमा रहेको मूर्ति, पर्यटकीय स्थलका रुपमा विकास गर्न थालिएको इलाम बजार नजिकैको भालुढुङ्गामा भालुको मूर्ति, भगवान शिवको मूर्ति स्थापना गरिएको छ । अहिले सम्म इलाम बजार र आसपासका क्षेत्रमा गरि एक दर्जन बढी प्रतिमा स्थापना भइ सकेका छन् ।
इलाम नगरपालिका वडा नम्बर – ७ भित्र पर्ने बजार क्षेत्रभित्रै धेरै प्रतिमा बनाउन सकिएकोमा वडाध्यक्ष नरेश श्रेष्ठले प्रतिमाले यहाँ सुन्दरता थपिएको बताउँछन् । ‘यसले इतिहासको संरक्षण हुन्छनै, यहाँ आउने पर्यटकको आकर्षणको केन्द्र पनि बन्न सक्छ भन्ने हाम्रो बुझाइ छ ।’ श्रेष्ठले भने ‘आफूहरु घुम्न पुगेका विभिन्न स्थानमा विभिन्न व्यक्तिका प्रतिमा भेटिंदा इलाम भित्रने पाहुना पनि खुशी छन् । इलाम भित्रने पाहुनालाई फोटो तथा सेल्फी खिच्न यी प्रतिमा स्थलहरुले निकै भुल्याउने गरेको वडाध्यक्ष श्रेष्ठ बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार