इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सूर्योदय नगरपालिका स्थित फिक्कल बजारमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दैछन् । स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा विगतदेखिनै नेकपा एमालेको किल्लाका रुपमा लिइएको इलाम क्षेत्र नम्बर १ मा आयोजना गरिएको यो जनसभालाई निकै अर्थपूर्ण रुपमा लिइएको छ ।
एमाले अध्यक्ष ओलीलेनै सम्बोधन गर्ने गरि आयोजना गरिएको कार्यक्रमलाई एमालेले शक्ति प्रदर्शनका रुपमा पनि लिएको छ । विगतका संसदीय निर्वाचनसँगै गएको प्रदेश सभासदस्य निर्वाचन र संघीय निर्वाचन सबैमा विजय प्राप्त गरेको एमालेले अब पनि आफ्नो विरासत कायम गर्न लागि परेको छ ।
संसदीय निर्वाचनमा निर्वाचित तात्कालिन एमाले वरिष्ठ नेता झलनाथ खनाल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा गएपछि एमाले प्रति चिन्तित भएका पुराना नेता कार्यकर्ता र शुभचिन्तकहरुको मनमा मह्लमपट्टी लगाउन पनि एमालेले यो जनसभा आयोजना गरेको बुझिएको छ । त्यसोत अध्यक्ष ओलीनै आउने भएपछि एमाले समर्थकहरु पनि उत्तिनै उत्साहित छन् । दश हजार कार्यकर्ता सहभागी गराउने एमालेको लक्ष्य रहेको यस जनसभाबाटै अर्थपूर्ण ढंगले पार्टी प्रवेशको कार्यक्रम समेत रहेको एमाले स्रोतको भनाइ छ ।
‘हरेक निर्वाचन जित्ने एमालेबाट थोरै संख्यामात्र चोइटिएको छ, धेरै अताल्लिनु पर्ने अवस्था होइन, तर, एकिकृत समाजवादीमा गएपछि, जानेहरु धेरैमा एमाले छोडेको पच्छुतो छ’ एमाले जिल्ला अध्यक्ष महेश बस्नेतले भने ‘अन्तमा एमाले एमालेनै हो, चुनावमा एक्लै लड्ने शक्ति भएको एमाले सबैको साझा पनि हो । आफ्नो घर फर्कन कसैलाई बन्देज छैन ।’ केही जनप्रतिनिधि एकिकृत समाजवादीमा गएपनि उनीहरुलाई जिताउने मतदाता चाँहि एमालेमै रहेको बस्नेतको भनाइ छ ।
अध्यक्ष बस्नेतका अनुसार इलाम क्षेत्र १ मा अहिलेसम्म कुनैपनि औपचारिक कार्यक्रमलाई पार्टी अध्यक्ष ओलीले सम्बोधन नगरेकाले यही क्षेत्रमा आमसभा आयोजना गरिएको बताए । कार्यक्रममा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङसमेत सहभागी हुँदैछन् ।
उता एमालेबाट एकिकृत समाजवादीमा जाने जनप्रतिनिधिहरु सबै पनि आफ्नो चित्त बुझाएरै समाजवादीमा गएको भने बुझिंदैन । ‘एमाले छोड्ने इच्छा थिएन, बाध्यता भयो, अब पनि गठबन्धनमा रहेर भोट जितिन्छ भन्ने खासै आश चाँहि छैन ।’ एक जनप्रतिनिधिले भने ‘नाम नभनिदिनोस तर, गठबन्धन भएपनि कांग्रेस र माओवादीबाट हाम्रो एकिकृत समाजवादीलाई भोट आउँछ भन्ने खासै विश्वास छैन ।’
त्यसोत इलाम क्षेत्रनम्बर १ मा अहिले सम्मका तीनै तहका निर्वाचनमा प्रतिस्पर्धी मुख्य दल त नेकपा एमाले पछिको नेपाली काँग्रेसनै हो । यसपटक पनि गठबन्धमै जाने हो भने नेपाली कांग्रेसलाई पनि खासै फाइदा देखिंदैन । कांग्रेस भित्रैका आफ्नै नेता कार्यकर्ता चुनावमा जान सक्षम र तत्पर देखिन्छन् । आफ्नो भागमा चुनावमा लड्ने नेतृत्व गठबन्धन गरेर अरु पार्टीलाई सुम्पिनु कांग्रेसका लागि पनि घातक छ । एमाले चोइटिएको दाउमा चुनाव जितिन्छ कि भन्ने भावना कांग्रेसका धेरै नेता कार्यकर्तामा रहेको पाइन्छ । यसो हुँदाहुँदै इलाम क्षेत्रनम्बर १ को स्थितिमा नेपाली कांग्रेसले गठबन्धन गरेर एकिकृत समाजवादी सहितका दललाई नेतृत्व सुम्पिनु कांग्रेस भित्रै पनि विरोध हुने निश्चित छ ।
यता एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्र सरकार टिकाउन गठबन्धनमा रहेपनि इलामकै हकमा भने स्थानीय तहको निर्वाचन सम्म गठबन्धनको आपसी विश्वासमा संकोचको अवस्था रहेको पाइन्छ ।