दुषित गठबन्धनलाई जनताकाे अदालतले पराजित गर्छ: नेम्वाङ

  आवाज सम्वाददाता

इलाम । नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङले राजनीतिक फैंसला अब जनताको अदातलले गर्ने बताएका छन् । प्रेस चौतारी इलामले सोमबार इलाममा आयोजना गरेको चौतारीका केन्द्रीय तथा प्रदेश कमिटीमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले सर्वोच्चको परमादेशले एमाले सरकार प्रतिपक्षमा पुगेको भन्दै अब जनताको अदालतले पुनःसरकारमा पुग्ने दाबी गरे ।
‘जनताले दिएको जनादेश अनुसार हामी सरकारमा थियौं, तर, कुनै संसदीय प्रक्रिया बिनानै सर्वोच्चको परमादेशले एमालेलाई प्रतिपक्षमा पुर्यायो ।’ नेता नेम्वाङले भने ‘अब वैशाख ३० गते जनताले फैंसला गर्नेछन्, स्थानीय तहहरुमा देखिनै एमालेका पक्षमा जनताको फैंसला शुरु हुनेछ ।’ अहिले इलामसहित देशव्यापी रुपमा एमालेमा जनलहर चलिरहेको भन्दै नेम्वाङले पार्टी नफुटि शुरु भएको गठबन्धनलाई दुषित गठबन्धनको संज्ञा दिए । संविधानसभा अध्यक्ष समेत रहेका नेम्वाङले ‘पाटी फुट्ने कुनै प्रावधाननै थिएन, त्यो प्रावधान नभै गठबन्धन शुरु भयो र गठबन्धन शुरु भएपछिमात्र अध्यादेश ल्याएर पार्टी फुटाएको औपचारिकता दिइयो, त्यसैले प्रावधान विना शुरु भएको गठबन्धन दुषित हो ।’
नेम्वाङले नेपालमा रहेको निरंकुशता देखि संविधान निर्माण सम्मका राजनीतिक आन्दोलनहरुमा नेपाली संञ्चारकर्मी र सञ्चार माध्यमले महत्वपूर्ण भुीमका निर्वाह गरेको बताए । यो भूमिकामा प्रेस चौतारी नेपाल र त्यसमा आवद्ध पत्रकारहरुको भूमिका अझ महत्वपूर्ण रहेको नेम्वाङको भनाइ थियो ।
नेता नेम्वाङले नेकपा एमालेले शुरु गरेका विकास निर्माणका कामहरु जुनसुकै स्थानमा अहिले पनि निर्माण चरण र सम्पन्नताको क्रममा रहेको भन्दै खासमा त्यो विकास निर्माण कस्को पालामा भएको हो तथ्यसत्य जनताका माझमा पु¥याउन सञ्चारकर्मीहरुलाई आग्रह गरे । आफ्नो गृह जिल्ला इलामको पहिलाको अवस्था र आजको अवस्था विश्लेषण गर्दा एमाले सरकारले केही गरेन भन्नेहरुका लागि हिजो र आजको इलामलाई तुलना गरेर हेर्न पनि नेम्वाङको आग्रह थियो ।
चौतारी इलाम अध्यक्ष भीम चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारीको लेखा आयोगका अध्यक्ष सटेन्द्र जबेगुले नेकपा एमालेले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई अगाडि बढाउन चौतारी सबै सञ्चारकर्मीहरु एकताबद्ध भएर लाग्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेम्वाङले प्रेस चौतारीको गएको अधिवेशनमा जिल्लाबाट निर्वाचित हुने लेखा आयोगका अध्यक्ष जबेगुसहित केन्द्रीय सदस्य कोकिला ढकाल, ख्याम भुजेल, प्रदेश समिति उपाध्यक्ष सुस्मा श्रेष्ठ सहित सदस्यहरु दिवाकर भण्डारी, विष्णु गड्तौला, सन्तोष नेम्वाङ, गणेश अर्याल र विमल दाहाललाई एमाले उपाध्यक्ष नेम्वाङले शाखाको तर्फबाट दोसल्ला सहित बधाइ तथा शुभकामना अर्पण गरेका थिए ।
नेकपा एमाले इलाम अध्यक्ष महेश बस्नेत, एमाले प्रदेश समिति सदस्य गणेशप्रसाद बराल, पार्टीको जिल्ला स्थित प्रेस चौतारी इन्चार्ज रविन्द्र सुवेदी, सचिवालय सदस्य धिरेन चेम्जोङ, चौतारीका पूर्व अध्यक्ष प्रकाश अधिकारी, नेपाल पत्रकार महासंघ इलामका पूर्व अध्यक्ष रोहितचन्द्र भट्टराईलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार