उद्यमशिलता तथा व्यवसायिक योजना निर्माण सम्बन्धी तालिम सम्पन्न

तारा खाती

  आवाज सम्वाददाता

इलामको माइजोगमाई गाउँपालिकामा उद्यमशिलता तथा व्यवसायिक योजना सम्बन्धीको सात दिने तालिम सम्पन्न भएको छ ।
मानव अधिकार मञ्च नेपाल इलाम र माइजोगमाई गाउँपालिकाको समन्वय तथा सहकार्यमा तालिम सम्पन्न भएको हो । सामाजिक रुपान्तरणका लागि युवा अभियान परियोजना अन्तर्गत युवाहरुको क्षमता विकास र परिचालन मार्फत मानव वेचविखन विरूद्वको अभियान समेत सञ्चालन गरिएको परियोजना संयोजक सन्तोष मगरले जानकारी दिए । एडब्लुओ इन्टरनेशनल र बिएमजेडको आर्थिक सहयोग र मानवअधिकार मञ्च नेपाल इलामको सहकार्यमा स्थानीय युवाहरुलाई सीप सिकाएर स्वरोजगार तथा व्यवसायिक बनाउने उद्देश्यले तालिम दिइएको परियोजना संयोजक मगर बताउँछन् ।
आर्थिक सामाजिक रूपले पछि परेका समुदाय, विपन्न, लक्षित वर्ग व्यवसाय गर्न उत्सुक युवाहरुलाई तालिममा सहभागी गराइएको परियोजनाका फिल्ड अधिकृत सुरेश पोर्तेलले बताए । तालिम दुई चरणमा सम्पन्न तालिममा माइजोगमाई – १, ३ र ४ मा गएको फागुन २० देखि २६ सम्म र वडा नम्बर २, ५ र ६ मा २७ फागुन देखि चैत्र ३ सम्म तालिम दिइएको बताइएको छ । १ नम्बर वडामा २४ जना, २ मा ३५, ३ मा २९, ४ मा १८, ५ मा २२ र ६ नम्बर वडामा २५ जनाको सहभागिता रहेको बताइएको छ । तालिममा सहभागीले व्यवसायिक बाख्रा पालन, गाई भंैसीपालन, मौरी पालन, कुखुरा पालन, च्याउ खेती, बेमौसमी तरकारी खेती, फर्निचर, पार्लर र डल सम्बन्धी व्यवसायिक योजना बनाएको परियोजनाका फिल्ड अफिसर अस्मिता मगरले बताइन् । उद्यमशिलता तथा व्यवसायिक योजना निर्माणमा सहभागीहुने युवाहरुलाई सात दिने व्यवसायिक सीपको तालिम केही समय पछि दिने तयारी भइरहेको बताइएको छ ।
तालिम समापनका अवसरमा बोल्दै वडा नम्बर ६ का वडा अध्यक्ष भवानीप्रसाद लिङ्गदमले तालिममा लिएको ज्ञान र सीपलाई व्यवहारमा लागु गरेर अघि बढ्न सहभागीलाई आग्रह गर्दै वडा कार्यालयबाट गर्न सक्ने सबै सहयोग गर्न तत्पर रहेको बताए । वडा नम्बर–४ का अध्यक्ष गणेशकुमार राईले तालिमको अनुगमन गर्दै सीपलाई निरन्तरता दिदै व्यवहारमा रूपान्तरण गरेमा गाउँपालिकाको आर्थिक समृद्विको लक्ष्य पुरा गर्न सहयोग पुग्ने बताए । यस्तै वडा – १ का यामकुमार कार्की, वडा नम्बर–२ का डम्बरबहादुर सुवेदी, वडा– ३ का यामप्रसाद लामा, वडा– ५ का दाताराम संजेल लगायतले तालिमको अनुगमन गरी सुझाव सल्लाह दिएका थिए । परियोजनाका सन्तोष मगर , विनोद निरौला, निरुता थापा र रन्जु थामी, अस्मिता मगर, कमलप्रसाद ढकाल, सुरेश पार्तेल र निरेन्द्र थापा मगरले तालिमको सहजीकरण गरेका थिए । तालिममा एक सय ५३ जना युवाहरुले व्यवसायिक योजना बनाउने सीप सिकेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार