म्यादी प्रहरीमा युवाको भीड

  आवाज सम्वाददाता

 

 

 

 

देशमा रोजगारको आवश्यकता कति छ भन्ने विषय अहिले जिल्ला प्रहरी कार्यालयमा लागेको म्यादी प्रहरीमा फारम भर्नेको लाइन हेर्दा देख्न सकिन्छ । आगामी वैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचनमा खटाउन आह्वान गरिएको म्यादी प्रहरीका लागि अहिले पूर्व नेपाली सेना, पूर्व शशस्त्र प्रहरी, पूर्व प्रहरी, पूर्व म्यादी प्रहरी र विदेश गएर फर्किएका युवाहरुको समेत भीड लागेको छ । आगामी चैत ११ गते सम्म म्यादी प्रहरीका लागि फारम भर्ने मिति तोकिएकोमा चैत ८ गतेनै तोकिएको कोटा भन्दा बढी आवेदन परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । बुधबार सम्ममा दुई हहजार भन्दा बढी आवेदन परेको कार्यालयले जनाएको छ ।  ४० दिन काम गर्ने गरि इलामका लागि जिल्ला प्रहरी कार्यालय इलामले एक हजार एक सय ९८ म्यादी प्रहरीको माग गरेको थियो । चैत १५ गते म्यादी प्रहरीको छनौट प्रक्रिया शुरु गरेर २२ गते नतिजा सार्वजनिक गरिने प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीको सूचना अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत रही निवृत्त वा उपदानप्राप्त पूर्वसुरक्षाकर्मी र पूर्ववनरक्षक, मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त नेपाली नागरिक र विगतका निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भइ सन्तोषजनक काम गरेका व्यक्तिलाई भने भर्नाको प्राथमिकताक्रममा राखिएको छ । आवश्यक न्यूनतम् योग्यताका रूपमा कुनै राजनीतिक दलको सदस्य नरहेको, कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, शारीरिक र मानसिक रूपले तन्दुरुस्त हुनुपर्नेछ ।
छानिएका म्यादी प्रहरीलाई चैत २८ मा प्रशिक्षण दिइने इलामका प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले बताए । निर्वाचन अवधिमा म्यादी प्रहरीले ४० दिन काम गर्नुपर्नेछ । यो अवधिमा सरकारले एक म्यादी प्रहरीलाई प्रहरी जवानसरहको आधारभूत मासिक तलब (२२ हजार ६ सय ८० रुपैयाँ) ४० दिनको ३० हजार २ सय ४० रुपैयाँ, खाद्यान्नका लागि एकमुष्ठ ७ हजार २ सय र पोसाकका लागि ६ हजार रुपैयाँ दिनेछ । निर्वाचन हुने ठाउँमा खटिने म्यादी प्रहरीलाई आउने–जाने खर्च एक हजार रुपैयाँ, बिमा र अन्य सुविधासमेत दिइनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार