कृषि क्याम्पसप्रति विद्यार्थीको आकर्षण बढ्दो,चैत १५ बाट पढाइ हुने

कोकिला ढकाल

  आवाज सम्वाददाता

इलाम नगरपालिकाले शुरु गरेको कृषि क्याम्पसमा आगमी चैत १५ देखि पढाइ शुरु हुने भएको छ । ४८ जना विद्यार्थी कोटा रहेको पहिलो व्याचका लागि सबै कोटा पुरा भएको र पढाइ शुरु गर्ने तयारी रहेको क्याम्पस सञ्चालक समितिले जनाएको छ । यसपटकको कोटा पुरा भएसँगै निकै संख्याका विद्यार्थीहरुले यस क्याम्पसमा पढ्न नपाउने भएका छन् ।
‘यसवर्ष विद्यार्थीको आवश्यकता र आकर्षण हेर्दा आगामी वर्ष ४८ जनाको कोटा बढाएर दुई गुणा बनाउनु पर्ने अवस्था देखिएको छ ।’ क्याम्पस सञ्चलक समिति अध्यक्ष जेबी लुङ्गेलीले भने ‘इलामकै पनि करफोक, कुटिडाँडाको शान्ति निकेतन, सरस्वती मावि सुलुबुङ्ग, सिंहदेवी मावि आमचोकमा कक्षा ९ देखि १२ सम्म बाली विज्ञान पढाइ हुन्छ, करफोकका विद्यार्थी पास आउट भए, बाँकी विद्यालयका विद्यार्थी पासआउट हुन बाँकी छन्, ती विद्यार्थीले पनि अन्त पढ्न पाउँदैनन उनीहरु पढ्न आउने स्थान यही बिएसीएजी हो ।’ यस क्याम्पसबाट विद्यार्थीहरुले स्नातक तहमा कृषि सम्बन्धी अध्ययन गर्न पाउने भएका हुन् ।
इलामका बाहेक झापा, पाँचथरको यासोक, सिनाम लगायतका स्थानमा रहेका विद्यालयमा पनि बाली विज्ञान पढाइ भइरहेकाले त्यहाँका विद्यार्थीले उच्च अध्ययन गर्न आउने ठाउँनै इलामको कृषि क्याम्पस रहेको अध्यक्ष लुङ्गेली बताउँछन् । त्यसोत रत्नकुमार वान्तवा पोलि टेक्निकल इन्स्टिच्युड, तेह्थुम र धनकुटामा रहेका सीटीइभीटीबाट उत्पादित विद्यार्थीको बाँकी अध्ययन गर्ने स्थान पनि यही कृषि क्याम्पस हो । ‘तल्लो कक्षाको पढाइ, र उत्पादित विद्यार्थीको आवश्यकताले इलाममा शुरु भएको कृषि क्याम्पसको भविष्य राम्रो देखिएको छ, तर क्याम्पस र शिक्षक व्यवस्थापन गर्न सक्नु पर्छ ।’ लुङ्गेलीले भने ‘पहिला २००४ साल मा स्थापना भएको इलामको आदर्श स्कूल देखि क्रमशः अन्य विद्यालयहरु स्थापना हुँदै गए, त्यहाँ उत्पादित विद्यार्थीको आवश्यकताले उच्च शिक्षाका लागि मरब क्याम्पस स्थापना भयो, अहिलेको आवश्यकता र कृषि क्याम्पस पनि त्यस्तै हो ।’
नगरपालिकाले विद्यार्थीको पढाइका लागि प्रयोगशाला, पुस्तकालय र स्मार्ट कक्षा तयार गरिसकेको छ । नयाँ ढंगले सञ्चालन गर्न लागिएको क्याम्पसमा बाली विज्ञान, मत्स्य, पशुविज्ञान र हर्टिकल्चर गरि चारवटा संकाय हुने क्याम्पस प्रमुख योगेन्द्रमान श्रेष्ठले जानकारी दिए । स्थानीय सरकारले सञ्चालन गरेको र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्र्वद्धन प्राप्त गर्ने इलाम स्थित यो कृषि क्याम्पस पहिलो भएको क्याम्पस प्रमुख श्रेष्ठले बताए । यहाँ विज्ञान विषयमा कक्षा १२ उत्र्तीण गरेका र मान्यता प्राप्त सीटीइभीटीबाट तालिम लिएका विद्यार्थीले अध्यययन गर्न पाउने छन् ।
क्याम्पसको व्यवस्थापनका लागि शुरुमा दश लाख र पुनः २५ लाख थप गरि ३५ लाख रुपैयाँको कोष तयार गरिसकेको छ । उक्त रकमले नपुग्ने हुँदा नगरपालिकाले थप खर्च व्यवस्थापन गर्ने जनाइएको छ । यता यहाँ अध्ययन गर्ने एक विद्यार्थीले पढाइ पुरा गर्दा चार लाख रुपियाँ खर्च गर्नुपर्ने छ । ‘अन्य तिरको पढाइ खर्च कम्तिमा १५ लाख रुपियाँ सम्म लाग्दो रहेछ ।’ सञ्चालक समितिका सचिव तथा इलाम नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले भने ‘स्थानीय सरकारले आफ्नो प्रयासमा सञ्चालन गर्न लागेकाले पनि यो सामुदायिक क्याम्पसमा न्युन शुल्क लिने व्यवस्था गरेका हौं ।’ श्रेष्ठका अनुसार आठ समेस्टरमा सञ्चालन हुने कक्षाको कोर्ष पुरा गर्न चार वर्ष लाग्छ । एक विद्यार्थीले पहिलो र दोस्रो समेस्टरमा ७०/७० हजार रुपैयाँ बुझाउनु पर्नेछ । बाँकी रकम छ समेस्टरमा भुक्तानी गर्नुपर्नेछ । तेस्रो सेमेस्टरदेखि सरदर ४३ हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार