आगामी चैत २५ गते देखि वैशाख २ सम्म इलाममा ‘केचना कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सव ७८’ आयोजना गरिने भएको छ । कोभिड– १९ का कारण सुस्ताउँदै गएको पर्यटन क्षेत्रलाई जागरुक गराउन महोत्सव आयोजना गर्न लागिएको हो ।
मूल आयोजक संस्था केचना कञ्चनजंघा पर्यटन विकास समितिले आइतबार सरोकारवाला संस्था र व्यक्तिहरुसँग छलफल गर्दै महोत्सवलाई प्रभावकारी ढंगले सफल बनाउन सुझाव समेत मागेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व मन्त्री तथा प्रदेश– १ का सांसद रामबहादुर रानाले सबै भन्दा पहिलो कुरा पर्यटकहरु सँग जोडिने व्यक्ति र व्यवसायीहरुलाई आफ्नो बानी, व्यवहार र बोलीमा परिवर्तन गरेर मिठास पन ल्याउन आवश्यक रहेको बताए । ‘अन्य स्थानका पर्यटकीय क्षेत्रमा गरिने व्यवहार र इलाममा गरिने व्यवहार धेरै फरक छ, इलामको व्यवहार खासै रुचाउँदैनन ।’ रानाले भने ‘पर्यटक सँग प्रत्यक्ष र पहिलो पटक जोडिने होटल र यातायातका सञ्चालक होइन त्यहाँका कर्मचारीलाई प्रशिक्षित गराउनु पर्छ । यदि उनीहरुको आफ्नै समस्या छ भने त्यस्ता समस्याको कसरी दीर्घकालिन समाधान गर्न सकिन्छ र पर्यटन क्षेत्रमा उनीहरुलाई सक्रिय गराउन सकिन्छ त्यसमा सोच्नुपर्ने अवस्था छ ।’
प्रमुख अतिथि रानाले इलाम आउने पर्यटकहरुले यहाँबाट लाने दिगो रुपको कोशेली तयार गर्न अर्को आवश्यकता रहेको बताए । ‘दुग्ध जन्य पदार्थ उत्पादन हुन्छ, तर त्यो खाएर सकिन्छ, यहाँ आउने पर्यटकले लगेर दिगो ढंगले सजाउन सक्ने कोशेली तयार गर्न सक्दा त्यसले व्यवसायिक रुप पनि दिन सक्छ ।’ रानाले भने ‘इलाम चियाको राजधानी हो तर, ग्रीन टी खानु प¥यो भने यहाँ पाउन मुस्किल छ ।’
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले पनि इलामको राम्रो पहिचान दिन जरुरी रहेको बताए । २१ वटा संस्था आयोजक रहेको महोत्सवमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताइएको छ ।
मेची कोरिडोर भित्र पर्ने इलाम, पाँचथर, झापा र ताप्लेजुङ्ग चारै जिल्लालाई केन्द्रित गर्दै महोत्सव आयोजना गर्न लागिएको हो । मेची कोरिडोर भित्र पर्ने नेपालकै होचो भू–भाग केचना देखि उच्च स्थान कञ्चनजंघा हिमाल सम्मका पर्यटकीय गन्तव्र्यहरुको प्रचार–प्रसार गर्दै यी चार जिल्लाका हरेक पालिकामा भएका पर्यटकीय गन्तव्र्यलाई एकै ठाउँमा राखेर जानकारी गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौरालीले बताए ।
इलामको ठूलो टुँडीखेलमा आयोजना गर्नलागिएको महोत्सवमा चार जिल्लाका ४२ पालिकाका आ–आफ्नै स्टल र नीजि क्षेत्रका स्टलहरु ७० राखिने छ । ‘यी चार जिल्लामा बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषीहरुको संस्कृति उनीहरुको रहनसहन, रितीरिवाज, उनीहरुका परिकार, यहाँको कृषि उत्पादन, कृषि पर्यटन पनि महोत्सवका मुख्य आकर्षण हुनेछन् ।’ कार्यकारी निर्देशक द्यौरालीले भने ‘यी बाहेक चलचित्र सम्बन्धी विभिन्न तालिम तथा अन्तक्र्रिया, साहित्यिक कार्यक्रम, रमाइलो मेला लगायतका विषयहरु पनि समेटिने छ ।’ यसैगरि चार जिल्लाका सबै पालिकाका प्रमुखहरु बीच आ–आफ्ना पर्यटकीय क्षेत्रका विषयमा छलफल समेत चलाइने छ ।
यस्तै मेची कोरिडोरमा छायांकन गरिएका नेपाली चलचित्रहरुलाई पनि समावेश गरिएको छ । नेपाली चलचित्रका विषयमा पनि छलफल चलाइ रहंदा मेची कोरिडोरमा चलचित्र छायाकंन गर्न सकिने स्थानहरुको फोटो प्रर्दशनी, चलचित्र निर्माण, अभिनयलगायतका विषयलाई समेत पनि महोत्सवमा समावेश गर्ने प्रयास भइरहेको बताइएको छ । कार्यक्रमलाई कसरी सफल पार्न सकिन्छ भन्ने विषयमा लोक गायक देवी गौतम, पूर्व शिक्षक जयनारायण भट्टराई, कमल सुवेदी, टोनी वर्देवा, कमल नेपाल, अनुजा सुवेदी, सुनिता कर्मचार्यलगायतले सुझाव राखेका थिए ।