आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता संख्या यकिन गरेको छ । आयोगका अनुसार इलामको कूल मतदाता संख्या २ लाख २४ हजार ७४८ रहेको छ ।
यसपटक पुरुष मतदाताको संख्या एक लाख १५ हजार ५५४, महिला मतदाताको संख्या एक लाख ९ हजार १९२ र दुई अन्य रहेको छ । अघिल्लो पटकको निर्वाचनमा भन्दा यसपटक एक हजार ३ सय २९ मतदाता संख्या कम भएको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयँलले जानकारी दिए । ‘मृत्यु भएका र दोहोरो नाम परेका मतदाताको नाम नामावलीबाट आयोगले घटाउँदा विगतमा भन्दा कम भएर मतदाता संख्या आएको छ ।’ फुयँलले भने ।
तर, पुरुष मतदातको भन्दा महिला मतदाताको संख्या पनि ६ हजार ३६२ ले कमि आएको छ । गएको जनगणनामा महिलाहरुको संख्या बढी देखिएपनि महिला मतदाताको संख्या कम हुनु आश्र्चय भएको जिल्ला निर्वाचन अधिकारी फुयँल बताउँछन् । ‘कित बालिकाको संख्या बढी हुनुपर्छ, कित महिलाहरु फोटोसहितको मतदाता परिचय पत्रमा फोटो खिचाउनै आएनन् ।’ फुयँलले भने ‘महिलाको संख्या किन कम भयो अध्ययन गर्न जरुरी देखियो ।’
यसअघि जिल्लामा तय गरेर पठाइएको २८७ मतदान केन्द्रमा पनि निर्वाचन आयोगले दुईवटा केन्द्रलाई कटाएको छ । एउटा रोङ गाउँपालिका र एउटा देउमाई नगरपालिकामा राखिएका केन्द्रहरु कटाएर २८५ केन्द्र निर्धारण गरेको जनाइएको छ । मतदान स्थलभने पुरानै अर्थात १५१ नै निर्धारण भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ ।
यता चैत २९ देखि काम गर्ने गरि निर्वाचन अधिकृतहरु तोकिइ सकेका छन् । तर, वैशाख ८ गते जिल्लामा मुख्य निर्वाचन अधिकृत सहित निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना हुने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि निर्वाचन आयोगको कार्यतालिका अनुसार वैशाख ११ गतेबाट मनोनयन दर्तादेखिका काम शुरु हुने बताइएको छ ।
यता निर्वाचन आयोगले मतदाता, सर्वसाधारण र सरोकारवालाको कुनै प्रश्न वा जिज्ञासा भए त्यस्तो जिज्ञासाको सम्बोधन गर्न ११०२ नम्बरको टोल फ्रि टेलिफोन सेवाको व्यवस्था मिलाएको छ । चैत १५ गते देखि मतगणना नसक्किए सम्मका लागि निर्वाचन आयोगले यो टोल फ्रि नम्बर व्यवस्था गरेको जनाइएको छ ।