काम गर्न सक्ने व्यक्तिलाई जिताउनु पर्छ ः नेम्वाङ

पहिलो पटक औद्योगिक ग्रामको शिलान्यास

  आवाज सम्वाददाता

नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङले देश अब निर्वाचनको माहोलमा गइसकेको भन्दै आउँदो निर्वाचनमा काम गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाएर जिताउनु पर्ने बताएका छन् ।
इलामको चुलाचुली गाउँपालिकामा आयोजित दुई अलग–अलग कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले सक्षम नेतृत्व छान्न सकियो भनेमात्र देश र नागरिकका हितमा काम हुने बताए । संविधानसभा अध्यक्ष समेत रहेका नेम्वाङले चुलाचुली गाउँपालिकामा औद्योगिक ग्रामको शिलान्यास गर्दै धेरै अघिदेखिको आफ्नो सपना साकार भएको बताए । ‘औद्योगिक ग्राम भनेको समृद्धिको यात्राको अर्को खट्किलो हो, यसले चुलाचुलीलाई मात्र नभएर समग्र जिल्ला र यहाँका बासिन्दाको आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्नेछ ।’ नेम्वाङले भने ‘अन्य सबै पालिकामा औद्योगिक ग्राम बन्नु पर्ने हो तर चुलाचुलीले बाजी मारेको छ, औद्योगिक ग्रामले समृद्धिको यात्रा शुरु भएको छ ।’
सोमबारनै चुलाचुलीे वाड नम्बर– ५को वडा कार्यालय भवन समेत उद्घाटन गर्दै नेम्वाङले आफू शुरुको निर्वाचनबाट निर्वाचित हुँदै गर्दाको अवस्था र अहिलेको अवस्थामा इलाम क्षेत्र नम्बर – २ को अवस्था धेरै अन्तर भएको बताए । ‘बिजुलीको नाममा एउटा वल्भ झुण्डिएको अवस्था थिएन, सडक, सिचाइ, माई खोलामा पुलको कल्पनै थिएन, चण्डाल घाटको डुङ्गाको भरमा यस क्षेत्रका बासिन्दाले जीवन गजार्नु परेको थियो रतुवा खोला हुँदै बाँझो, इभाङबाट माथिल्लो भेगमा जाने अवस्था कहाली लाग्दो थियो ।’ नेम्वाङले भने ‘मैले भनिरहन पर्दैन, अहिले तपाईंहरु आफैं मुल्याकंन गर्नुस् इलाम क्षेत्र नम्बर– २ अहिले कस्तो पाउनु हुन्छ ।’ नेम्वाङले दमक–राँके –रवि सडक, दानाबारी–बेलासे–मंगलबारे सडक, बेलासे पुल हुँदै इलाम सदरमुकाम जोड्ने फास्ट ट्याकको विषेश चर्चा गरेका थिए ।
नेता नेम्वाङले अब स्थानीय तहको निर्वाचन नजिक आउँदै गर्दा क्षेत्र नम्बर– २ का सबै नागरिक र मतदाताहरुलाई निर्वाचनमा सहज ढंगले सहभागी हुन आग्रह गरेका थिए । इलाममा भने पहिलो पटक शिलान्यास भएको औद्योगिक ग्राम चुलाचुली गाउँपालिकाको वडा नम्बर–३ र ४ को सिमाना विधुवा साँचे दोभानमा निर्माण गर्न लागिएको हो ।
औद्योगिक ग्रामका लागि अहिले उद्योग वाणिज्य तथा आपूत्र्ति मन्त्रालयबाट ९२ लाख रुपियाँ आएको जनाइएको छ । यसबाट औद्योगिक ग्रामको डिपीआर तयार गर्नै र अन्य प्राविधिक काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।
नेपाल सरकारले स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सीपको परिचालन गरि लघु, घरेलु तथा साना उदोगमा लगानी गरि त्यस्ता उद्योगको स्थापना विकास प्रर्वद्धन गर्ने र रोजगारीे सृजनाको माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान गरि छरिएर रहेका लघु तथा साना उद्योगहरुलाई एकिकृत गर्ने औद्योगिक ग्राम घोषणा तथा सञ्चालन सम्बन्धी कार्यविधिको प्रस्तावनामै उल्लेख गरिएको छ । कार्यक्रममा पूर्व मन्त्री तथा प्रदेश सांसद राम राना र नेकपा एमाले जिल्ला अध्यक्ष तथा इलाम नगरप्रमुख महेश बस्नेतले सम्बोधन गरेका थिए । कार्यक्रम चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईको अध्यक्षतामा भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार