अर्थपूर्ण सहभागिता खोज्दै दलित समुदाय

‘सहभागिताका लागि सहभागिता मात्र होइन, दलितहरुको अर्थपूर्ण सहभागिता हुनुपर्छ ।’ दलित महिलाहरुले पद पाइन्छ उपस्थिति पनि राम्रै हुन्छ तर त्यो पद र उपस्थितिलाई अर्थपूर्ण बनाउन आवश्यक रहेको दलित समुदायका अगुवाले बताएका छन् ।
नगर स्तरीय दलित समन्वय समितिको आयोजना र उत्पीडित जातीय अधिकार मञ्चको सहकार्यमा भएको ‘महिला सशक्तिकरणका लागि नेतृत्व विकास’ कार्यक्रममा बोल्दै इलाम नगर कार्यपालिका इलामकी सदस्य सानु दासले दलित समुदायको लागि इलाम नगरपालिकाले वितेको पाँच वर्षमा दलितहरुको नेतृत्व विकास, स्वास्थ्य, शिक्षाको क्षेत्रमा पनि विभिन्न कामहरु गरेको बताएकी छिन् ।
आगामी वैसाख ३० गते हुने स्थानीय तहको निवार्चनलाई लक्षित गरी स्थानीय तहमा दलित समुदायको सहभागिता, उनीहरुको भूमिका, अगामी निर्वाचनमा दलित समुदायको अधिकारको संरक्षण गर्न कस्तो जनप्रतिनिधि आवश्यक पर्छ ? यो विषयमा अझै पनि सचेतना आवश्यक रहेको मानव अधिकारकर्मी देवेन्द्र विश्वकर्मा बताउँछन् । ‘दलित भित्रका पनि दलित महिलाहरु अझ पछाडि परेको छ, अझै पनि इलाम नगरपालिकामा जातीय भेदभाव र छुवाछुत कायम रहेको अवस्था छ’ विश्वकर्माले भने ‘तर अब कथित ठूलो भनिने समुदाय सँग अन्तरक्र्रिया, बहस र छलफल गर्नु पर्छ र त्यसैको माध्यमबाट परिवर्तन गर्न सकिन्छ ।’ विश्वकर्माले दलित महिलाहरु सशक्त भएर अघि बढ्न र आवाज उठाउन आवश्यक रहेको बताए ।
यस्तै इलाम नगरपालिका– ६ की वडा सदस्य बसन्ती घतानी पनि गैर दलित महिलाहरुबाट विभिन्न किसिमका चुनौतीहरु आउने र दलित महिलाले के गरे भन्ने खालका विभिन्न प्रश्नहरु आउने गरेको बताउँछिन् । ‘ ती चुनौतीहरुलाई समाधान गर्दै विभेद विरुद्ध बोल्न सबै महिलाहरुले सक्नु पर्छ ।’ घतानीले भनिन् ।
इलाम नगरपालिका १० की वडा सदस्य बिमला बराइली गएको ५ वर्षमा दलितका क्षेत्रमा विभिन्न कामहरु गरेको भए पनि अझै धेरै कामहरु गर्न बाँकी रहेको बताउँछिन् । ‘अब आउने जनप्रतिनिधिहरुले ती बाँकी काम पुरा गर्नु हुन्छ र गर्नु पर्छ भन्ने कुरामा हामी समुदायको तर्फबाट विश्वस्त छौं ।’ उनले भनिन् ।
कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधिहरु र अन्य सहभागीले आ–आफ्नो विचार राखेका थिए । सोही अवसरमा युवा नगर परिषदका अध्यक्ष प्रकाश घिमिरेले महिला सदस्यमा मात्र होइन खुल्ला पुरुषमा पनि महिलाले दाबी गर्न सक्ने र उनीहरु सक्षम रहेको धारणा राखेका थिए ।
नगरपालिका उपप्रमुख शुुशिला नेम्बाङले सहभागिता र क्षमता विकास गरेर जुन ठाउँमा महिला आउँछन् त्यो मात्र ठूलो कुरा होइन, निर्णयमा महिलाको पहुँच हुनु महत्वपूर्ण रहेको बताइन् । ‘विभेद र छुवाछुतको कुरा आउँदा तत्काल प्रतिकार गर्नु पर्छ अन्याय सहेर बस्नु हुँदैन ।’ नेम्वाङले भनिन् ‘ म आफू पनि विभेद विरुद्धको प्रतिकारमा उत्रिने गरेको छु, साथै महिला र परुषको नेतृत्व विकासमा सम्मान सहभागिता गरेर अघि बढ्न सक्नु अबको आवश्इकता हो ।’
इलाम नगरपालिकाका सबै वडा गरी ३३ जना महिलाहरुको सहभागी भएको कार्यक्रमको सहजिकरण नगर दलित समन्वय समितिका अध्यक्ष मनकुमार बराइली, अधिकारकर्मी देवेन्द्र विश्वकर्मा र ज्ञानेन्द्र रसाइलीले गरेका थिए । समापनमा बोल्दै नगर दलित समन्वय समितिका अध्यक्ष बराइलीले लैङ्गिक हिसाबले महिलालाई पछाडि पारिएको त्यसमा पनि पछाडि पारिएको दलित महिला भएको बताए । ‘त्यही भएर यो समुदायको विकास हुनुपर्छ, नेतृत्वमा सहभागिता हुनु पर्छ, स्रोत साधनमा पहुँच हुनु पर्छ, शक्ति र सत्तामा सहभागी हुनु पर्छ ।’ उनले भने ‘नेपालको संविधानले व्यवस्था गरेर हरेक स्थानीय तहका वडाहरुमा दलित महिलाको व्यवस्था अनिवार्य गरेको छ । त्यही कुरालाई सार्थक तुल्याउन दोस्रो चरणको निर्वाचनमा पनि दलित समुदायको सहभागिता बलियो हुन जरुरी छ ।’ बराइलीले अघिल्लो निर्वाचनमा दलित महिलाको १७९ स्थान खालीको अवस्था रहेको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार