कोभिड–१९ को संक्रमणले जनजीवन आजित बनेका बेला इलाममा टाइफाइड रोगको संक्रमण पनि उच्च दरमा रहेको पाइएको छ । खाना, पानी र संक्रमित विरामीबाटै सर्ने टाइफाइडको विगत पाँच वर्षको तथ्याकं हेर्ने हो भने वर्षैनी प्रति एक लाखमा ६ सय देखि ७ सय जनामा टाइफाइडको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।
नेपाल सरकारले आगामी चैत २६ देखि चैत ३० गते सम्म बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप दिने तयारीको विषयमा जानकारी गराउँदै कार्यालय प्रमुख आदित्य शाक्यले इलामको यो संक्रमण दर ज्यादै उच्च रहेकाले अब लक्षित समुहका कुनैपनि बालबालिकालाई खोपबाट छुटाउन नहुने बताए । ‘प्रति एक लाखमा एक सय जनामा टाइफाइड देखियो भने त्यसलाईनै उच्च दर मानिन्छ, इलामको अवस्था त्यसको अरु गुणा बढी देखिएको छ ।’ शाक्यले भने ‘खोप अभियान चलाउन जरुरी अवस्था पनि देखियो ।’
आगामी चैत २६ देखि ३० गते सम्म १५ महिना माथि र १५ वर्ष मुनिका सबै टाइफाइड विरुद्धको खोप दिने अभियान चल्दैछ । अभियानका क्रममा जिल्लाका सामुदायिक तथा संस्थागत सबै विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र राखेर खोप लगाउने तयारी भएको कार्यालयका खोप सुपरभाइजर गंगाधर पण्डितले बताए । पण्डितका अनुसार जिल्लामा लक्षित समुहभित्र ६४ हजार ४ सय बालबालिका छन् । विद्यालयभित्र रहेका बालबालिकाको संख्या भने ४५ हजार ८५८ रहेको छ । यस्तै विद्यालय बाहिर रहेका १५ महिना देखि पाँच वर्ष मुनिका बालबालिकाको संख्या १८ हजार ५४२ रहेको छ । यी सबै बालबालिकालाई खोप लगाउन जिल्लाका सबै पालिकाका सबै स्वास्थ्यकर्मीहरुलाई तालिम दिइसकिएको र शिक्षकहरु सँग समेत अन्तक्र्रिया गरिएको जनाइएको छ ।
यसपटकको टाइफाइड विरुद्धको खोप अभियान सम्पन्न भएपछि हरेक बालबालिकालाई १५ महिनामा टाइफाइडको खोपलाई नियमित खोपका रुपमा दिइने तयारी भएको बताइएको छ । ‘दादुरा, रुवेलालगायतका १२ वटा खोप दिइन्थयो अब टाइफाइडको थपिएपछि १३ वटा नियमित खोप हुनेछन् ।’ खोप सुपरभाइजर पण्डितले भने ‘यो खोप लगाउँदा सामान्य जीउ दुख्ने र सामान्य ज्वरो आउने हुनसक्छ, यो खोप टाइफाइड विरुद्ध लड्ने रोग प्रति रोगी क्षमता वृद्धि गर्ने हो त्यसैले कसैले पनि डराउनु पर्दैन ।’ उच्च ज्वरो आएका र शरीरमा एलर्जी समस्या देखिएकालाई भने खोप नलगाइने बताइएको छ । कोभिड खोप पनि चलिरहेकाले कोभिड विरुद्ध खोप लगाएको १४ दिन पछिमात्र टाइफाइड विरुद्धको खोप लगाउन मिल्ने पनि बताइएको छ ।
मानव शरीरमा उच्च ज्वरो आउने, टाउको, जीउ दुख्ने, पेट दुख्ने, पखाला लाग्ने, सुख्खा खोकी लाग्ने, वाकवाकी लाग्ने जस्ता लक्ष्यण देखिने टाइफाइडको मुख्य लक्षण रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
सञ्चारकर्मी सँगको अन्तक्र्रियाको समापन गर्दै नेपाल पत्रकार महासंघ इलाम शाखाका उपाध्यक्ष ख्याम भुजेलले बालबालिकाका खोप अभियान चलाउनु अघि उनीहरुका अभिभावकलाई पनि सचेतना गराउन जरुरी रहेको बताए ।