मतदान स्थलमै मतदाता परिचयपत्र

निर्वाचन मिति नजिकिंदै गर्दा अहिले सबै मतदाताको मनमा मतदाता परिचयपत्रको खुलदुली निकै छ । पुराना मतदाताले त आफू सँग भएको पुरानै मतदाता परिचयपत्र प्रयोग गर्न पाउनेछन् । तर, अहिले सम्म मतदाता परिचयपत्र नभएका नयाँ मतदाताले आफ्नो परिचयपत्र कहिले पाइएला भनेर चासो गरिरहेका छन् ।
२०७४ पछि मतदाता परिचयपत्रका लागि फोटो खिचाउने, नाम ठेगाना त्रुटी भएका र नामावली सारिएका मतदाताले यसपटक मतदान स्थलमै परिचय पत्र पाउने भएका छन् । आगामी वैशाख २९ गते निर्वाचनका लागि खटिने कर्मचारीहरुले सम्बन्धित मतदान स्थलमै ती मतदाताको परिचय पत्र उपलब्ध गराउने तयारी रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । परिचयपत्र लिन स्वयं व्यक्ति अथवा एकाघरका सदस्यले मात्र सक्ने व्यवस्था रहेको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयंलले बताए ।
यता निर्वाचन आयोगले विगतको जस्तो गरि मतदाता शिक्षा भने सञ्चालन गरेन । विगतका निर्वाचनहरुमा मतदाता शिक्षाको जानकारी लिएर घर–घरमै पुग्ने स्वयंसेवकहरु हुने गरेका थिए । यसपटक भने निर्वाच आयोगले त्यसो नगरि हरेक मतदान स्थलमा निर्वाचनका दिन नमुना मतपत्र लिएर स्वयं सेवक खटाउने भएको छ । ‘विगतको भन्दा मतदाता शिक्षा फरक छ, निर्वाचन अधिकृतले नियुक्त गरेका दुई जना स्वयं सेवकले मतदान स्थल भन्दा बाहिर नमुना मतपत्रमा मतदाताहरुलाई मत खसाल्ने तरिका सिकाउने छन् ।’ जिल्ला निर्वाचन अधिकारी फुयंलले भने ।
निर्वाचनका लागि यसअघिनै निर्वाचन अधिकृतहरु आयोगले तोकि सकेको छ । जिल्ला र पालिका तहमा भने वैशाख ८ गते मतदान अधिकृतको कार्यालय स्थापना हुने जनाइएको छ । वैशाख ११ देखिको निर्वाचन तालिका अनुसार निर्वाचनका अन्य कायहरु अगाडि बढ्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार