महोत्सवको आकर्षण ‘रक क्लाइबिङ’

प्राकृतिक ढंगले निर्माण भएको ढुङ्गाको भीर । भीरको टुप्पो तिर मानव वस्ती, गाउँको नामनै महभीर । इलाम नगरपालिका– ८ मा पर्ने महभीर यतिबेला इलाम भित्रने पर्यटकहरुका लागि मुख्य आकर्षण बन्न थालेको छ ।
बाबुबाजेका पालादेखि महभीर भएर इलाम– सोयाङ आउजाउ गर्ने मानिसहरुलाई वर्षायाममा त डरसरी हुन्थ्यो । अहिले इलाम हुँदै सोयाङ–नयाँबजार जाने कच्ची सडक निर्माण भएपछि धेरैलाई महभीरको बाटो बानी परिसकेको छ ।
त्यसोत इलाममा अचेल महभीरको बाटो भन्दा पनि महभीरका ढुङ्गा रुचाउने बेग्लै संस्कृति हुर्कन थालेको छ । ८५ फिट उचाइरहेको महभीरका ढुङ्गामा डोरी लगाएर चड्ने र यसलाई पर्यटकीय गन्तव्र्यका रुपमा विकास गर्ने नौलो प्रयास भइरहेकोले धेरै व्यक्तिको रुचीमा महभीर पर्न थालेको हो ।
विगतमा इलाम नगरपालिका र मेची पर्यटन प्रर्वद्धन समितिले महभीरलाई ‘रक क्लाइबिङ’ का रुपमा विकास गर्न थालेपछि इलाम भित्रने पर्यटकहरुको पनि त्यसतर्फ चासो बढ्न थालेको हो । इलाम नगरपालिकाबाट छ किलोमिटर मात्रै टाढा रहेको महभीर यतिबेला अझ पर्यटन महोत्सवको मुख्य आकर्षण बन्दै छ ।
रकक्लाइबिङका रुपमा विकास गर्न अहिले स्थानीय ११ युवाहरुले डोरीको माध्यमबाट ढुङ्गेभीर चढ्न आधारभूत तालिम लिइरहेका छन् । विभिन्न पाँचवटा रुटबाट चढ्न सकिने महभीरमा यामबहादुर गुरुङ फाउण्डेशनले सात दिने तालिम आयोजना गरेर ती युवाहरुलाई आधारभूत ज्ञान सिकाइ रहेको छ । विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन तालिम सहित प्रशिक्षक मनिषा बुडामगर र सुसान्त ढुंगेलले तालिम दिइ रहेका छन् ।
तालिममा सहभागि युवालाई विस्तारै थप चट्टान आरोहण सम्बन्धी तालिम दिदैं इलाम नगरपालिका भित्रने पर्यटकहरुलाई साहसिक पर्यटनका लागि आकर्षित गर्ने लक्ष्य रहेको इलाम नगरपालिका स्थित पर्यटन प्रर्वद्धन समितिका संयोजक प्रकाश अधिकारी बताउँछन् । ‘अस्ति म आफू पनि त्यहाँ गएर ढुङ्गा चढ्न कोशिस गरें, शुरुमा अलि गाहे जस्तो, तर विस्तारै सहज हुने रहेछ ।’ अधिकारीले भने ‘तालिम लिएका युवाहरुले त्यहाँ जाने पर्यटकलाई चट्टान चढ्न सहयोग गर्नेछन् । यसले इलामको पर्यटन क्षेत्रमा ठूलो फड्को मार्ने सम्भावना छ ।’
यही चैत २५ देखि वैशाख २ गते सम्म इलाममा आयोजना गरिएको केचना कंचनजंघा पर्यटन तथा चलचित्र महोत्सवमा आउने पर्यटकहरुलाई निःशुल्क रुपमै चट्टान आरोहण गराउने तयारी रहेको अधिकारीले बताए । ‘शनिबार आधारभूत तालिम समापन हुन्छ, प्रशिक्षक र सहभागीले डेमो देखाउँछन् र त्यहाँ गएका पर्यटकलार्य पनि आरोहणका लागि सहयोग गर्छन् ।’ अधिकारीले भने ‘स्थानीय युवाले तालिम लिएकाले यहाँको रक क्लाइबिङले अब निरन्तरता पाउनेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार