चिया तथा अलैंची अनुसन्धान केन्द्र इलाममा स्थापनाको पहल

चिया र अलैंचीको मुख्य उत्पादन हुने इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापना गर्न पहल थालिएको छ । राष्ट्रिय व्यवसायिक कृषि अनुसन्धान कार्यक्रम अन्तर्गत धनकुटामा रहेको यो केन्द्रको अर्को शाखाका रुपमा चिया र अलैंची उत्पादन हुने स्थानमै स्थापना गर्न पहल थालिएको हो ।
यो केन्द्रले चिया र अलैंचीको क्षेत्रमा अनुसन्धान गर्छ । ‘सूर्योदय नगरपालिकास्थित पान्दाममा रहेको अलैंची विकास केन्द्रले अलैंची विस्तारको काम गर्छ, यो कार्यालयले चाँहि अनुसन्धानको काम गर्छ ।’ धनकुटास्थित नेपाल अनुसन्धान परिषद नार्क पाख्रिबासका प्रमुख डाक्टर गोविन्द्र तिम्सिनाले भने ‘अहिले सम्म नेपाली चियाको जात छैन, नेपाली अलैंचीको पाँचवटा जात बल्ल दर्ता भएको छ । अलैंचीका अरु १५ जात बाँकीनै छन् । अनुसन्धान हुनै बाँकी छ ।’ यो कार्यालय इलाममा स्थापना गर्न सकियो भने चिया र अलैंचीका लागि महत्वपूर्ण काम हुनसक्ने तिम्सिनाले बताए ।
तिम्सिनाका अनुसार इलाम नगरपालिका – १ साँखेजुङमा ५० रोपनी जग्गा व्यवस्थापन गरेर कार्यालय स्थापनाका लागि पहल शुरु भएको छ । ‘हामीलाई अनुसन्धान गर्न दुई सय रोपनी जग्गा चाहिन्छ, अहिले कार्यालय स्थापनाका लागि इलाम नगरपालिका र वडा कार्यालय सँगको समन्वयमा ५० रोपनी जग्गा व्यवस्थापन भएको छ ।’ डा.तिम्सिनाले भने ‘आउँदो साउन अर्थात नयाँ आर्थिक वर्षदेखि कार्यालयनै स्थापनाको प्रयास छ । हामी अनुसन्धानको काम थाल्छौं ।’
त्यसोत नेपाली चिया आफ्नै जात अहिले सम्म विकास हुन सकेको छैन । अलैंचीको पनि गतवर्ष पाँचवटा जातलाई नेपाली जातका रुपमा दर्ता गरिएको छ । नेपालमा खेती हुँदै आएका गोलसाई, रामसाई, डम्बरसाई, भलाङ्गे र जिर्मले गरि पाँच जातको दर्ता गरिएको थियो । आफ्नै जात दर्ता गरेर नामाकरण गरेपछि विश्वमा नेपाली जातको चिया र अलैंची चिन्न सकिने र कसैले पनि नेपाली जातमाथि धावा बोल्न नमिल्ने विज्ञहरुको भनाइ छ । कार्यालय स्थापना पछि नेपाली चियाका लागि पनि नयाँ प्रयास शुरु हुने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार