बिना निष्कर्ष टुङ्गियो गठबन्धनको बैठक

सूर्योदयमा कांग्रेसले गठबन्धन नगर्ने

  आवाज सम्वाददाता

 

 

स्थानीय निर्वाचनका लागि उम्मेदवार मनोनयनको दिन नजिकिंदै गर्दा इलाममा सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । बैठकमा गठबन्धनमा रहेका दलका प्रतिनिधिले आ–आफ्ना दलको तर्फबाट प्रस्ताव र धारणा राखेका थिए ।
गठबन्धनको केन्द्रमा भएको सहम

 

ति अनुसार स्थानीय तहमा भाग बण्डा नमिले पछि सोमबार पनि बसेको बैठक निष्कर्ष बिनै टुङ्गिएको बुझिएको छ । ‘बैठक बस्यो, हामीले आ–आफ्ना प्रस्ताव र धारणा राख्यौं, छलफल भयो, निष्कर्ष केही आएन, बैठक स्थगित भयो ।’ नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक विजय खम्बुले भने ।
यता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले पनि जिल्ला तहमा गठबन्धनलाई खासै जोड दिएको छैन । उम्मेदवार मनोनयनको दिन नजिकिंदै गर्दा कांग्रेसका तल्लो तहका नेता, कार्यकर्ता र मतदाताको मनसाय र सुझाव आएपछि कांग्रेस जिल्ला तहको नेतृत्व केन्द्रको सर्कुलर अनुसार अगाडि नबढेको बुझिएको छ । कांग्रेसको जिल्ला तहका एक शीर्ष नेताले भने ‘अहिले केन्द्रको सर्कुलर अनुसार हामी जान सकेनौं, तल्लो तहबाट आएको सुझाव अनुसार एक्लै चुनावमा जाँदा पनि हामी धेरै पालिका जित्ने अवस्थामा छौं,स्थानीय तहका प्रमुख पद हामी त्याग्न सक्दैनौं ।’
कांग्रेसले केन्द्रको नीति भन्दा स्थानीय नेताकार्यकर्तालाईनै प्राथमिकता दिएको निश्चित छ । यता कांग्रेसको सूर्योदय नगरपालिकाका १४ वटै वडा कार्यसमितिले संयुक्त बैठक गरि गठबन्धन मतदाताहरुको भावना विपरित रहेको जनाएका छन् । वडा–७ का सभापति लेखनाथ खड्काको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेसका मतदाता अन्य चुनाव चिन्हमा भोट हाल्न तयार नभएको र गठबन्धनको केन्द्रीय निर्णय अनुसार सूर्याेदय नगरपालिकामा गठबन्धनको कुनै आवश्यकता नरहेको निर्णय गर्दै विज्ञप्ती जारी गरेको छ ।
वडासभापतिको विज्ञप्ती आएपछि सूर्योदय नगरसमितिले पनि वडानै बलियो आधार भएको जनाएको छ । नगरसभापति जीवन नेपालले वडाबाट आएको धारणा सूर्योदय नगरपालिका भरिकै नेपाली कांग्रेसको धारणा भएको बताए । ‘हामीले गठबन्धन अनुसार चलेर पार्टीलाई ठूलो घाटा लागाउने स्थितिमा छैनौं । गठबन्धन अनुसार चल्नु भनेको कांग्रेस सक्किनु हो ।’ नगरसभापति नेपालले भने ‘हामीले जिल्लामा पनि सूर्योदयमा प्रमुख पद अरुलाई दिएर गठबन्धन आवश्यक छैन भनेर पत्र पठाइ सकेका छौं ।’
सूर्योदय र माइजोगमाई सहित अन्य पालिकाहरुको प्रमुखमा समेत दाबी गर्दै आएको नेकपा समाजवादीका नेता तथा कार्यकर्ता पनि गठबन्धन भनेर आफूहरुलाई कांग्रेसले झुलाएको हो भन्नेमा पुगेको बुझिएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट जितेर गएका पालिकाहरुमा गठबन्धनको निर्णय अनुसार नेकपा एसलाई नै दिने समहति थियो । तर, कांग्रेसले जिल्ला तहमा गठबन्धनको सहमति भन्दा बाहिर गएर व्यवहार गरेको नेकपा समाजवादीका एक नेताले बताए । ‘अन्तिममा गठबन्धन नहुनेनै रहेछ भन्ने बुझियो, आफ्नै ढंगले चुनावी प्रचारमा गएको भए हाम्रो लागि राम्रो हुने रहेछ ।’ उनले भने ।
काङ्ग्रेसले जिल्लाका चारै नगर र छ वटै गाउँपालिका अध्यक्ष पाउनुपर्नेमा दाबी कायमै राखेको छ । केही दिनअघि सत्ता गठबन्धनको बैठकले केन्द्रबाट उम्मेदवारको मापदण्ड घोषणा गर्दै नेकपा (एकीकृत समाजवादी)लाई उसले नेतृत्व गरेका पालिकामा उसैलाई प्रमुख उम्मेदवार बनाउने निर्णय ग¥यो । जिल्लाका माइजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राई र सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राई नेकपा (एमाले)बाट २०७४ सालको चुनाव जितेका पालिका प्रमुख हुन् । उनीहरू दुवै जना अहिले नेकपा (एकीकृत समाजवादी)मा छन् । गठबन्धनको मापदण्डअनुसार यी दुवै पालिकाको प्रमुख एकीकृत समाजवादीकै भागमा पर्ने देखिएको छ । र, दुवै जना पुनः त्यही पदमा उम्मेदवार बन्ने चर्चासमेत थियो । गठबन्धनको सम्भावना सकिंदै गर्दा उनीहरुको उम्मेदवारी पनि धरापमा परेको अवस्था छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा इलामका ४ नगर र ६ गाउँपालिकामध्ये नेकपा (एमाले)ले चारै नगरको मेयर–उपमेयर, २ गाउँपालिका अध्यक्ष र पाँच गाउँपालिका उपाध्यक्ष जितेको थियो । काङ्ग्रेसले ३ गाउँपालिका अध्यक्ष र १ उपाध्यक्ष जितेको थियो । जिल्लाका ८१ वडामध्ये एमालेले ४७, काङ्ग्रेसले ३१ तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, माओवादी र राष्ट्रिय जनमुक्ति पार्टीले १–१ वडा जितेका थिए । माओवादीले जितेको वडाका वडाध्यक्ष भने एमालेमा प्रवेश गरिसकेका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार