काठमाडौंको शिल्पी थिएटरले ‘अलिकति उज्यालो’ नाटक इलाममा मञ्चन गरेको छ । निर्वाचन नजिकिंदै गर्दा राजनीतिक दल र जनप्रतिनिधिले यस अघि कस्तो कार्य गरेर नागरिकका आवश्यकता तथा अपेक्षा कति पुरा गरे भन्ने विषय वस्तुलाई नाटकले समेटेको छ ।
घरका अनेक समस्याहरुका बीच विदेशिन बाध्य हुने नेपाली युवाका पीडा , स्थानीय पालिकाबाट सर्वसाधारण नागरिकले पाउने सेवा सुविधा, नेताहरुले देखाउने व्यवहार, महिलालाई गरिने व्यवहार लगायतका विषय समेटिएको नाटकले अब कस्ता नेतालाई जनप्रतिनिधि बनाएर पठाउने भन्नेमा नागरिकलाई समेत सचेत गराएको छ ।
सुसाशन मैत्री, हिंसारहित तथा नमुना पालिका कस्तो हुन्छ र कसरी नमुना पालिका बनाउन सकिन्छ भन्ने विषयलाई समेत समेटेको नाटकले राजनीतिक दल तथा नेताहरुलाई समेत नागरिकक प्रति जिम्मेवार हुन समेत गराएको पाइन्छ ।
नाटकमा महिलाहरुले नेतृत्व गर्न खोज्दा पनि राजनीतिक दलबाट टिकट पाउनै मुस्किल र टिकट पाएमा घरपरिवारबाट अवरोध हुने स्थितिको ज्वलन्त उदारण देखाइएको छ ।
पहिलो चरणमा निर्वाचन अघि रामेछापको मन्थली, सिन्धुलीको माडी, ओखलढुङ्गा, खोटाङको दिक्तेल, भोजपुर, धनकुटा, बसन्तपुर, पाँचथरको च्याङथापु र इलाममा देखाइ सकिएको र अब दमक तथा मोरङको विराटचोकमा शनिबार मञ्चन गरेपछि पहिलो चरणको नाटक यात्रा सम्पन्न हुने घिमिरेले बताए । पुनः दोस्रो चरणमा विराटनगर, विरगंज, भरतपुर र बुटवलमा यो नाटक मञ्चन गरिने जनाइएको छ । नाटकमा देशभरका १२ जना कलाकारहरु सहभागी छन् । कार्यक्रममा चेतना नाट्य समुहका अध्यक्ष सुरेश पोर्तेलले शिल्पीका कलाकारहरुलाई स्वागत गरेका थिए ।